देउवा स्वागतमा ट्राफिक नियम उल्लङ्घन, गाडी र मोटरसाइकललाई जरिबाना

spot_img

काठमाडौँ,३१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौँ फर्किँदा स्वागतमा प्रयोग गरिएको गाडी र मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा देउवा सवार गाडी तथा स्वागतमा गएको मोटरसाइकललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।

देउवा गत बिहीबार (साउन २८ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बागमती प्रदेश–०१–०२९ च–९३४३ नम्बरको गाडीमा विमानस्थलबाट महाराजगञ्जस्थित निवाससम्म पुगेका थिए । उनलाई नेता तथा कार्यकर्ताले विमानस्थलबाट स्वागत गर्दै उक्त गाडीमा निवाससम्म लगेका थिए । उक्त गाडी सिन्धु इन्टरप्राइजेजको नाममा रहेको प्रहरीले जनाएको छ । गाडीको चालकलाई यात्रु राख्न नमिल्ने स्थानमा यात्रु राखेको कसुरमा १ हजार रुपैयाँ जरिबाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन् ।

ट्राफिक प्रहरीका अनुसार गाडीको ढोकाको साइडमा ६ जना झुण्डिएर यात्रा गरिरहेका थिए । यात्रु राख्न नमिल्ने स्थानमा बसेर वा झुण्डिएर यात्रा गर्नु ट्राफिक नियमविपरीत हुने भएकाले चालकलाई कारबाही गरिएको हो । एसपी सुवेदीले नियमविपरीत सवारी सञ्चालन गर्ने सबैलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् । उनले सडक सुरक्षाका लागि ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, देउवाको स्वागतमा गएको एउटा मोटरसाइकलमा ३ जना सवार रहेको पाइएपछि ट्राफिक प्रहरीले चालकलाई समेत कारबाही गरेको छ । भारबहन क्षमताभन्दा बढी यात्रु बोकेको कसुरमा मोटरसाइकल चालकलाई ५ सय रुपैयाँ जरिबाना गरिएको प्रहरीले जनाएको छ । यस घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ट्राफिक प्रहरीले सडक सुरक्षाबारे सचेत गराएको छ । प्रहरीले भिडियोसँगै ‘दुर्घटना बाजा बजाएर आउँदैन, सावधानीले भने रोक्न सक्छ’ भन्ने सन्देशसमेत राखेको छ ।

ट्राफिक प्रहरीले सडकमा सवारी चलाउँदा नियमको पालना गर्न र क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । दुर्घटनाबाट जोगिन चालक तथा यात्रुले समेत आवश्यक सावधानी अपनाउनुपर्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once