विशेष महाधिवेशन अराजक र विधानविपरीत भयो : कृष्णप्रसाद सिटौला

spot_img

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन अराजक र विधानविपरीत ढंगले गरिएको टिप्पणी गरेका छन्।

संस्थापनइतर पक्षले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनलाई निर्वाचन आयोगका दुई जना आयुक्तले सदर गरेको दाबी गर्दै त्यसविरुद्ध सर्वोच्च अदालतबाट न्याय पाउने आशा व्यक्त गरे। उनले विशेष महाधिवेशनसँग जोडिएको निर्वाचन आयोगको निर्णयप्रति प्रश्न उठाउँदै सर्वोच्च अदालतले सुरुदेखि नै विषयको सुनुवाइ गर्नुपर्ने बताए। निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने विषयमा त्रुटि भएको र त्यसबारे पुनरवलोकन भइरहेको उनको भनाइ थियो।

‘अहिले एउटा आशा पलाएको छ। सर्वोच्च अदालतले सुरुदेखि नै सुनुवाइ गर्नुपर्छ। निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्नेमा त्रुटि भएको थियो, यसमा पुनरवलोकन हुँदैछ,’ सिटौलाले भने, ‘सर्वोच्चले गर्ने निर्णयले कांग्रेसले न्याय पाउँछ।’ सिटौलाले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई आफूले ‘सभापति’ भन्नसमेत नचाहेको बताए। उनले थापालाई पार्टीका युवा नेताका रूपमा सम्बोधन गर्दै विशेष महाधिवेशनको प्रक्रियामा भएको त्रुटि सच्याउन आग्रह गरे।

‘हाम्रो युवा नेता हुन् गगन भाइ, अन्यथा नहोस्, सभापति भन्न मन लागेको छैन। अराजक ढंगले विधानविपरीत विशेष महाधिवेशन भयो,’ उनले भने। मानिसको जीवनमा गल्ती हुन सक्ने भन्दै सिटौलाले विशेष महाधिवेशनको प्रक्रियामा भएको त्रुटिलाई आत्मसात् गरेर सच्याउनु उपयुक्त हुने धारणा राखे। त्यसका लागि अदालतले बाटो खोलिदिएको भन्दै उनले गगन थापालाई आफैं अग्रसर भएर आवश्यक कदम चाल्न आग्रह गरे।

‘मानिसको जीवनमा गल्ती हुन्छ। उहाँले आत्मसात् गरेर सच्याउनु राम्रो हुन्छ। त्यो बाटो अदालतले खोलिदिएको छ। अब के गर्नुपर्छ, उहाँलाई थाहा होला। आफैँ अग्रसर हुनुस्,’ सिटौलाले भने। सिटौलाले नेपाली कांग्रेसमा पार्टी एकताका लागि सबैले जोड दिए पनि एकताको आफ्नै सिद्धान्त र चरण हुने बताए। पार्टीभित्रको विवाद समाधान र एकताका विषयमा हतारमा निष्कर्षमा पुग्नुभन्दा त्यसका आधार र प्रक्रियालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले निर्वाचन आयोगको निर्णयप्रति समेत असन्तुष्टि व्यक्त गरे। सबै विषय छाडेर पार्टी एकता सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दै सिटौलाले निर्वाचन आयोगले गरेको निर्णयको प्रक्रियामाथि प्रश्न उठाए। ‘सबै छाडेर पार्टी एकता सम्भव हुन्छ? निर्वाचन आयोगले कस्तो निर्णय गरिदियो। कसैको बहकाउ र लहडमा दुई जना आयुक्तले निर्णय लिए?’ उनले प्रश्न गरे।

विशेष महाधिवेशनको वैधानिकता, निर्वाचन आयोगको निर्णय तथा पार्टीभित्रको एकताको विषयलाई लिएर कांग्रेसभित्र विवाद भइरहेका बेला सिटौलाको यस्तो धारणा सार्वजनिक भएको हो। उनले न्यायिक प्रक्रियाबाट विषयको टुंगो लाग्ने र सर्वोच्च अदालतबाट कांग्रेसले न्याय पाउने आशा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once