वीरगंज,२९ साउन । पर्साको जिराभवानी गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विषयमा स्थानीय सरकार, विद्यालय तथा सरोकारवाला निकायबीच समन्वय बैठक सम्पन्न भएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड (PIN), Accountability Lab Nepal, National Campaign for Education Nepal (NCE Nepal), नेपाल अपाङ्ग महिला संघ र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत शुक्रबार बैठक आयोजना गरिएको हो।
बैठकमा गाउँपालिकाभित्र सबै बालबालिकाको समान पहुँच सुनिश्चित हुने गरी समावेशी तथा गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने विषयमा छलफल गरिएको थियो। विद्यालयमा देखिएका समस्या तथा चुनौती पहिचान गर्दै शिक्षा सुधारका लागि स्थानीय तहबाट गर्न सकिने सहयोगका विषयमा समेत सहभागीबीच अन्तरक्रिया भएको थियो। कार्यक्रममा समावेशी शिक्षाको अवधारणा, विद्यालयमा सबै बालबालिकाको समान पहुँच, अपाङ्गता भएका बालबालिका तथा बालिकामैत्री शैक्षिक वातावरण निर्माण, विद्यालय र स्थानीय सरकारबीचको समन्वय तथा शिक्षा क्षेत्रको सुधारमा स्थानीय तहको भूमिकालगायतका विषयमा छलफल भएको थियो।
दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिराभवानी गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्ष तथा वडा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख तथा प्रशासन शाखा प्रमुखसमेत सहभागी थिए।
त्यसैगरी श्री बितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोला, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, काठकुइया बसन्तपुरका प्रधानाध्यापक तथा बालिका तथा समावेशी सञ्जालका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियान (NCE Nepal) का राष्ट्रिय उपाध्यक्ष रामप्रवेश साहले गरेका थिए। उनले समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।
उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै विद्यालय र समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। कार्यक्रम सञ्चालन दिव्य विकास स्रोत केन्द्र, पर्साका सहायक कार्यक्रम अधिकृत नवलकिशोर साहले गरेका थिए।
बैठकले स्थानीय तहमा समावेशी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि स्थानीय सरकार, विद्यालय, समुदाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। साथै शिक्षा क्षेत्रमा देखिएका समस्या तथा चुनौती समाधानका लागि आगामी दिनमा समन्वयात्मक पहल गर्नेमा समेत बैठकले जोड दिएको छ।





