परीक्षा हलमा मोबाइल भेटिएपछि विवाद, ठाकुरराम क्याम्पसमा दुई समूहबीच कुटाकुट

spot_img

वीरगंज,२८ साउन । ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजमा परीक्षाको क्रममा मोबाइल फोन प्रयोग गरेको विषयलाई लिएर विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा दुई जना विद्यार्थी घाइते भएका छन् भने घटनामा संलग्न रहेको आरोपमा स्ववियु सदस्य आयुष यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार क्याम्पसमा एमएम फस्ट सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका बेला परीक्षा हलमा मोबाइल फोन प्रयोग गरेको विषयबाट विवाद सुरु भएको थियो । विवाद क्रमशः बढ्दै गएपछि क्याम्पस परिसरमै दुई समूहबीच कुटाकुट भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । क्याम्पसका एक कर्मचारीका अनुसार परीक्षामा सहभागी स्ववियु सदस्य आयुष यादव क्याम्पसले निर्धारण गरेको सिट प्लानअनुसारको कोठामा नबसी अर्कै कोठामा बसेका थिए । परीक्षामा खटिएका निरीक्षकले उनलाई निर्धारित कोठामा गएर परीक्षा दिन आग्रह गरेपछि विवाद सुरु भएको थियो ।

त्यसै क्रममा परीक्षा अनुगमनका लागि परीक्षा हलमा पुगेका स्ववियु सभापति राजकुमार यादवले परीक्षाको मर्यादा र नियम पालना गर्न आग्रह गरेका थिए । सोही विषयलाई लिएर आयुष यादव र राजकुमार यादवबीच थप विवाद भएको बताइएको छ । विवादकै क्रममा परीक्षा हलमा आयुष यादवको साथबाट मोबाइल फोनसमेत भेटिएपछि स्थिति थप तनावपूर्ण बनेको थियो । क्याम्पस प्रमुख डा. केशव यादवले आयुष यादवको साथमा रहेको मोबाइल फोन जफत गरेपछि उनी आक्रोशित बनेको क्याम्पसका कर्मचारीले बताएका छन् ।

कर्मचारीका अनुसार मोबाइल जफत भएपछि आयुष यादवले फोनमार्फत बाहिर रहेका आफ्ना समर्थकहरूलाई क्याम्पसमा बोलाएका थिए । त्यसपछि आयुष यादव र राजकुमार यादव पक्षबीच क्याम्पस परिसरमै हानाहान भएको थियो । दुई समूहबीच कुटाकुट भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली क्याम्पस पुगेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटाकुटका क्रममा वीरगंज महानगरपालिका–२४ का अन्दाजी २३ वर्षीय सुनिल यादव र वीरगंज महानगरपालिका–१० का अन्दाजी २५ वर्षीय राजु श्रीवास्तव घाइते भएका छन् । दुवै जना ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल पठाइएको छ । घटनामा संलग्न रहेको आरोपमा स्ववियु सदस्य आयुष यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

डीएसपी मल्लका अनुसार परीक्षा सञ्चालन भइरहेका बेला क्याम्पसले तोकेको भन्दा फरक कोठामा परीक्षा दिन बसेका स्ववियु सदस्य आयुष यादव र परीक्षा अनुगमनका क्रममा पुगेका स्ववियु सभापति राजकुमार यादव पक्षबीच विवाद भएको थियो । सोही विवादले उग्र रूप लिएपछि क्याम्पस परिसरमै दुई पक्षबीच कुटाकुट भएको उनले बताए ।

परीक्षा जस्तो संवेदनशील समयमा भएको यस घटनाले ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा व्यवस्थापन तथा विद्यार्थीको अनुशासनसम्बन्धी विषयलाई समेत चर्चामा ल्याएको छ । यद्यपि, घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once