वीरगंज,२१ साउन । पर्सा जिल्ला अदालतले विभिन्न मुद्दाका क्रममा दसी (प्रमाण) का रूपमा अदालतमा दाखिला भएका तथा आम्दानी बाँधिएका सवारीसाधन र विभिन्न प्रकारका मालसामान सम्बन्धित व्यक्तिले सात दिनभित्र फिर्ता लैजान आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
अदालतले बुधबार जारी गरेको सूचनाअनुसार विभिन्न मुद्दामा अभियोगपत्रसाथ दसी प्रमाणका रूपमा पेश गरिएका तथा आम्दानी बाँधिएका सवारीसाधन एवं अन्य मालसामानमध्ये कानुनबमोजिम अदालतको आदेश वा फैसला पश्चात् फिर्ता पाउने ठहर भएका, तर हालसम्म कसैले दाबी नगरेका सामान सम्बन्धित व्यक्तिले आफ्नो हक दाबी गर्नुपर्ने भएको हो।
सूचनामा उल्लेख भएअनुसार सम्बन्धित मालधनीले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो परिचय खुल्ने कागजात तथा आवश्यक प्रमाणसहित पर्सा जिल्ला अदालतको तहसिल शाखामा उपस्थित भई सामान बुझिलिन आग्रह गरिएको छ।
अदालतका अनुसार तोकिएको समयभित्र सम्बन्धित व्यक्तिले सम्पर्क नगरेमा वा सामान फिर्ता लिन नआएमा ती दसीका रूपमा आम्दानी बाँधिएका मालसामान जिल्ला अदालत नियमावली, २०७५ को नियम १२ बमोजिम लिलाम बिक्री प्रक्रिया अघि बढाइनेछ।
अदालतले लिलाम प्रक्रिया सुरु भएपछि त्यसबाट उत्पन्न हुने कुनै पनि प्रकारको उजुरबाजुर वा दाबी स्वीकार नहुने स्पष्ट गरेको छ। त्यसैले सम्बन्धित व्यक्ति वा मालधनीलाई समयसीमाभित्र आवश्यक प्रमाणसहित अदालतमा सम्पर्क गरी आफ्नो सामान बुझिलिन अदालतले अनुरोध गरेको छ।
पर्सा जिल्ला अदालतका तहसिलदार (शाखा अधिकृत) देवराज भट्टराईद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्बन्धित सबै पक्षलाई समयमै उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।





