वीरगंज,१७ साउन । बालबालिकालाई सुरक्षित, बालमैत्री तथा गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउने उद्देश्यसहित पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ। दिब्य विकास स्रोत केन्द्र (DDRC) पर्सा र ActionAid International नेपालको साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत उक्त विद्यालय भवन निर्माण हुन लागेको हो।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वाको आयोजनामा सम्पन्न शिलान्यास कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो र वडा नं. ४ का वडा अध्यक्ष बासु पंजियारले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको थियो। बालबालिकालाई सुरक्षित, सहज र प्रभावकारी सिकाइ वातावरण उपलब्ध गराउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको उक्त भवनका लागि एक्शनएड नेपालले आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ। भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधार थप मजबुत हुने र विद्यार्थीहरूको अध्ययन–अध्यापन प्रक्रिया अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी, दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, दिब्य विकास स्रोत केन्द्र पर्साका सचिव विध्या भूषण प्रसाद, कार्यकारिणी समितिका सदस्य धनिलाल राउतलगायतको सहभागिता रहेको थियो।
त्यस्तै, कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी, दिब्य विकास स्रोत केन्द्र पर्साको स्थानीय अधिकार कार्यक्रममा कार्यरत कर्मचारी, महिला समूहका सदस्य, वडा नं. ४ का समाजसेवी तथा स्थानीय बासिन्दासहित करिब २५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै नयाँ विद्यालय भवन निर्माणले बालबालिकालाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले विद्यालयको भौतिक संरचना सुधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने बताएका थिए।
निर्माण हुन लागेको ४ कोठे विद्यालय भवनको कुल लागत ६६ लाख ९३ हजार रुपैयाँ रहेको जनाइएको छ। भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई थप व्यवस्थित कक्षाकोठा तथा राम्रो सिकाइ वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।





