वीरगंज,१७ साउन । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूको साथबाट भारतीय २ लाख ९ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३ः५० बजे इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा ना.१० प ४४६९ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–२ स्थायी घर भई हाल चितवनको माडी नगरपालिका–९ हनुमानझुलामा बसोबास गर्दै आएका ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङको साथबाट स्रोत खुलाउन नसकिएको प्रतिबन्धित भारतीय मुद्रा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको रकममध्ये भारतीय ५०० दरका ३१६ थान नोट बराबर १ लाख ५८ हजार रुपैयाँ, २०० दरका ७५ थान नोट बराबर १५ हजार रुपैयाँ तथा १०० दरका ३६५ थान नोट बराबर ३६ हजार ५०० रुपैयाँ रहेको छ। यसरी उनीहरूको साथबाट कुल भारतीय २ लाख ९ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको भारतीय मुद्रा र प्रयोग गरिएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।





