वीरगंज,१६ साउन । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबारवीरगंजमा सम्पन्न भएको छ। युवाहरूमा सार्वजनिक वक्तृत्वकला, तार्किक सोच, आत्मविश्वास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित फाइनल प्रतियोगितामा समाजसेवी तथा उद्योगपति जगदीश अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा शिक्षा, उद्योग, सामाजिक सेवा तथा उद्यमशीलता क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले आजको प्रतिस्पर्धात्मक युगमा सफल हुन केवल शैक्षिक ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रभावकारी सञ्चार कला, तार्किक सोच र नेतृत्व क्षमता पनि उत्तिकै आवश्यक रहेको बताए। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आफ्नो विचार स्पष्ट, आत्मविश्वासका साथ र प्रमाणसहित प्रस्तुत गर्ने क्षमता विकास गर्नुका साथै भविष्यका सक्षम नेतृत्व तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष ज्योति क्याल र वीरगंज टोस्टमास्टर्स क्लबकी अध्यक्ष खुशी अग्रवाल ले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, नियमित अभ्यास तथा व्यक्तित्व विकासका गतिविधिमा सक्रिय रहन आग्रह गरे। उनीहरूले यस्ता सिर्जनात्मक तथा बौद्धिक प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै नेतृत्व विकास, तार्किक विश्लेषण र सार्वजनिक प्रस्तुति क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानले दूरदर्शी नेतृत्व विकास, आजीवन सिकाइको संस्कार प्रवर्द्धन, साहित्य तथा सामाजिक चेतनाको विकास र उद्यमशीलताको विस्तारमार्फत नैतिक, समुन्नत तथा समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले ज्ञान, नेतृत्व, सेवा र समृद्धिलाई आफ्नो मूल मूल्यका रूपमा अघि बढाउँदै आएको जानकारी पनि कार्यक्रममा दिइयो।
प्रतियोगिताको फाइनल चरणमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूले ‘इन्टरनेटका फाइदा र बेफाइदा’ तथा ‘सामाजिक सञ्जालका फाइदाभन्दा बेफाइदा बढी छन्’ भन्ने समसामयिक विषयमा खुला बहस प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले पक्ष र विपक्षमा प्रभावशाली तर्क, तथ्यगत विश्लेषण तथा उत्कृष्ट वक्तृत्व क्षमता प्रदर्शन गरेका थिए। उनीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, तार्किक बहस र विषयवस्तुप्रतिको गहिरो बुझाइले उपस्थित दर्शकको विशेष ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा समाजसेवी तथा उद्योगपति गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मानवसेवा आश्रमका देवेश गुप्ता, शिक्षाविद् राजेन्द्र कोइराला, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य लगायत शिक्षा, उद्योग, सामाजिक तथा व्यावसायिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आयोजकले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आलोचनात्मक सोच, प्रभावकारी सञ्चार कला, सार्वजनिक बोल्ने क्षमता तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी रूपमा निरन्तरता दिइने जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो क्षमता उजागर गर्ने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने तथा भविष्यका सक्षम नेतृत्व निर्माण गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकको निष्कर्ष रहेको थियो।





