वीरगंजमा हट्यो निषेधाज्ञा, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

spot_img

वीरगंज,१६ साउन । केही दिनयता तनावग्रस्त बनेको वीरगंजको अवस्था क्रमशः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ। सुरक्षा अवस्था सुधार हुँदै गएको र जनजीवन सामान्य बन्दै गएको निष्कर्षसहित प्रशासनले शनिबार बिहानदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ बजेदेखि प्रत्येक दिन बिहान ६ बजेसम्म लागू गरिएको निषेधाज्ञा शनिबार बिहानदेखि पूर्ण रूपमा हटाइएको छ। पछिल्ला केही दिनमा वीरगंजको सुरक्षा अवस्था नियन्त्रणमा आउँदै गएको, तनाव कम हुँदै गएको तथा स्थानीय जनजीवन सामान्य बन्दै गएको मूल्याङ्कनपछि निषेधाज्ञा हटाइएको उनले जानकारी दिए।

यसैबीच, सिरहाको गोलबजार घटनाका पीडित परिवार र नेपाल सरकारबीच ८ बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। उक्त सहमतिसँगै वीरगंजमा विगत केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घ–संस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्।

आन्दोलनरत सङ्गठनहरूले जारी गरेको जानकारीअनुसार पीडित परिवार र सरकारबीच सहमति भएपछि शनिबारदेखि पर्सा जिल्लाभर सञ्चालन हुँदै आएका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिइएको हो। आन्दोलन स्थगित गर्ने निर्णयसँगै केही दिनदेखि प्रभावित बनेको वीरगंजको जनजीवन पुनः लयमा फर्किन थालेको छ।

शनिबारदेखि वीरगंज तथा आसपासका क्षेत्रमा बजार पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने उद्योगधन्दा पनि नियमित रूपमा चल्न थालेका छन्। यसैगरी सार्वजनिक तथा निजी सवारीसाधनको आवतजावत सहज बनेको छ, जसले सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाएको छ।

सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन जना युवाको मृत्यु भएको घटनाको विरोधमा पर्साको सदरमुकाम वीरगंजमा हिन्दूवादी सङ्गठनहरूको नेतृत्वमा विगत केही दिनदेखि प्रदर्शन, विरोध सभा तथा विभिन्न आन्दोलनका कार्यक्रम सञ्चालन हुँदै आएका थिए। सरकार र पीडित पक्षबीच सहमति भएपछि ती सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएका हुन्।

प्रशासनले निषेधाज्ञा हटाएसँगै वीरगंजमा सुरक्षा निकायले भने परिस्थितिमाथि निरन्तर निगरानी कायम राखेको जनाएको छ। हाल बजार, यातायात, व्यापार–व्यवसाय तथा अन्य दैनिक गतिविधि नियमित बन्दै गएको र समग्र अवस्था सामान्यतर्फ उन्मुख रहेको प्रशासनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once