काठमाडौं,०९ साउन । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र एक मेकानिकल अधिकृत घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। सेवाग्राहीसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने नाममा घुस मागिएको उजुरीका आधारमा अख्तियारले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ पर्नेमा डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन्। उनीहरूलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो। अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भइसकेपछि भुक्तानी प्रक्रिया अगाडि बढाइदिने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने सूचना तथा उजुरी प्राप्त भएको थियो। सोही सूचनाका आधारमा बर्दिबासस्थित अख्तियार कार्यालयबाट खटिएको विशेष टोलीले निगरानी बढाएको थियो।
अनुसन्धानका क्रममा टोलीले डिभिजन प्रमुखको सरकारी क्वार्टरमा छापा मारेर ढकाल र चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ। पक्राउका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ नगद तथा तीनवटा मोबाइल फोन समेत बरामद गरिएको आयोगले जानकारी दिएको छ। बरामद नगद र मोबाइल फोनलाई अनुसन्धानको प्रमाणका रूपमा नियन्त्रणमा लिइएको बताइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।





