काठमाडौं,०४ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको यात्रा फेरि एकपटक महत्वपूर्ण मोडमा आइपुगेको छ। घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारको दौडमा आफूलाई पुनः स्थापित गरेको नेपाल अब त्यही लयलाई विदेशी भूमिमा पनि निरन्तरता दिने लक्ष्यसहित नेदरल्यान्ड्स पुगेको छ। साउन ५ गतेदेखि नेदरल्यान्ड्समा सुरु हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा लगातार दुई शृङ्खलामा प्रभावशाली प्रदर्शन गरेको नेपालका लागि अब विदेशी वातावरणमा हुने खेल वास्तविक परीक्षा हुनेछ।
करिब दुई महिनाअघि नेपालको अवस्था निकै चुनौतीपूर्ण थियो। लिग–२ अंकतालिकामा सातौँ स्थानमा रहेको नेपालले २० खेलबाट पाँच जित मात्र निकाल्दै १२ अंक जोडेको थियो। त्यसबेला शीर्ष चारमा पुग्ने सम्भावना कठिन देखिएको थियो। तर कीर्तिपुरमा भएको शृङ्खलामा नेपालले शानदार पुनरागमन गर्यो। ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठ खेलमध्ये छ खेल जित्दै नेपालले १२ महत्वपूर्ण अंक थप्यो। त्यससँगै नेपाल २८ अंकसहित पाँचौँ स्थानमा उक्लियो र शीर्ष चारको सम्भावना पुनः बलियो बन्यो। अब नेपालको बाँकी यात्रा घरबाहिर हुनेछ। नेदरल्यान्ड्सपछि नेपालले ओमानमा ओमान र क्यानडाविरुद्ध अर्को शृङ्खला खेल्नेछ। त्यसैले आगामी आठ खेल नेपालको विश्वकप छनोट यात्रा र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने अभियानका लागि निकै महत्वपूर्ण हुनेछन्।
सन्तुलित प्रदर्शन नेपालको बलियो पक्ष
घरेलु मैदानमा नेपालको सफलताको मुख्य आधार टोलीको सन्तुलित प्रदर्शन थियो। बलिङ विभाग पहिलेकै लयमा मजबुत देखिएको थियो भने ब्याटिङमा पनि उल्लेखनीय सुधार आएको थियो। विशेषगरी शीर्षक्रमका ब्याटरहरूले निरन्तर योगदान दिन थालेपछि नेपालले प्रतिस्पर्धात्मक योगफल बनाउनुका साथै लक्ष्य पछ्याउँदा पनि आत्मविश्वास देखाउन थालेको थियो। इशान पाण्डेको आगमनपछि शीर्षक्रममा देखिएको बाँया–दायाँ संयोजनले नेपालको ब्याटिङलाई थप सन्तुलित बनाएको छ। कप्तान रोहित पौडेलदेखि मध्यक्रमका ब्याटर र बलरसम्मले सामूहिक जिम्मेवारी पूरा गर्दा नेपालले अमेरिका र स्कटल्यान्डजस्ता बलिया टोलीलाई समेत दबाबमा राख्न सफल भएको थियो। नेपालले अघिल्लो लिग–२ चक्रमा पनि अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनोटसम्मको यात्रा तय गरेको थियो। यसपटक पनि त्यस्तै पुनरागमन दोहोर्याउने अवसर नेपालसँग छ। तर त्यसका लागि विदेशी भूमिमा पनि घरेलु प्रदर्शनलाई निरन्तरता दिनुपर्नेछ।
कप्तान रोहित पौडेलले विश्वकप छनोट र ओडीआई मान्यताका लागि आगामी शृङ्खला निकै महत्वपूर्ण रहेको बताएका छन्। “लास्ट दुई सिरिज एकदमै राम्रो भएको छ, अब हुने नेदरल्यान्ड्स सिरिजमा हामी केन्द्रित छौं। हाम्रो लक्ष्य एकदिवसीय विश्वकप खेल्नु छ, हामी त्यहीअनुसार खेल्छौं,” रोहितले बताएका छन्। त्यस्तै, नेपाली टोलीका पेस बलर सोमपाल कामीले पनि शीर्ष चारमा पुग्ने लक्ष्यसहित टोलीले आफ्नो लय कायम राख्नुपर्ने बताएका छन्। “हाम्रो जुन लय छ, त्यसलाई कायमै राख्नुपर्छ। हाम्रो लक्ष्य शीर्ष चारमा फिनिस गरेर ओडीआई स्टाटस जोगाउने र विश्वकप छनोटमा पुग्नु नै हो,” सोमपालले बताएका छन्।
जर्सीसँगको अभ्यास खेलले बढायो आत्मविश्वास
विदेशी शृङ्खलाअघि नेपालले तयारीस्वरूप जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भयो। पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै जर्सीलाई २५१ रनको लक्ष्य दिएको थियो। उक्त खेलमा नेपाल ८१ रनले विजयी भएको थियो। कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखको प्रभावकारी बलिङ नेपालको जितको आधार बनेको थियो। दोस्रो अभ्यास खेलमा नेपालले २८३ रनको लक्ष्य पछ्याएको थियो। वर्षाका कारण खेल प्रभावित भएपछि नेपाल डीएलएस पद्धतिअनुसार सात रनले विजयी भयो। यी दुई जितले विदेशी परिस्थितिमा पनि नेपाली टोली लयमा रहेको संकेत गरेको छ। तर अभ्यास खेल र लिग–२ का प्रतिस्पर्धात्मक खेलबीच ठूलो अन्तर हुने भएकाले नेपालले अझै चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्नेछ। नेदरल्यान्ड्सको मौसम, सीम र स्विङलाई सहयोग गर्ने पिच तथा घरेलु टोलीको अनुभव नेपालका लागि चुनौती बन्न सक्छ। अर्कोतर्फ नामिबिया पनि अंकका लागि संघर्षरत टोली भएकाले हरेक खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
लयमा नेपाली खेलाडी
पछिल्लो समय नेपाली खेलाडीहरू उत्कृष्ट लयमा देखिएका छन्। ओपनिङ ब्याटर कुशल भुर्तेलले पछिल्ला पाँच ओडीआई खेलमा एक शतकसहित २०२ रन बनाएका छन्। जर्सीसँगको अभ्यास खेलमा पनि उनले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए। त्यस्तै, इशान पाण्डेले तीन ओडीआई खेलमा ८४, ५५ र २०* रन बनाउँदै राम्रो प्रभाव पारेका छन्। जर्सीसँगको अभ्यास खेलमा उनले ९० रन बनाएर आफ्नो लय कायम रहेको संकेत दिएका छन्। उपकप्तान दीपेन्द्रसिंह ऐरीले पछिल्ला आठ खेलमा एक शतक र तीन अर्धशतकसहित ३८४ रन बनाएका छन् भने ११ विकेट पनि लिएका छन्। बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने पछिल्ला आठ खेलमा १९ विकेट लिन सफल भएका छन्। जर्सीसँगको अभ्यास खेलमा सन्दीपसँगै करण केसी र हेमन्त धामीले पनि प्रभावकारी बलिङ गरेका थिए।
अंकतालिकामा नेपालको अवस्था
लिग–२ अंकतालिकामा नेपाल हाल दुई विपक्षी टोलीको बीचमा रहेको छ। तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २८ खेलबाट ३२ अंक छ भने पाँचौँ स्थानमा रहेको नेपालको समान खेलबाट २८ अंक छ। सातौँ स्थानमा रहेको नामिबियाको २८ खेलबाट २२ अंक छ। नेपालले आगामी खेलमा कस्तो प्रदर्शन गर्छ र नेदरल्यान्ड्सले कति अंक गुमाउँछ भन्ने कुराले नेपालको शीर्ष चारमा पुग्ने सम्भावना निर्धारण गर्नेछ। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको लिग–२ शृङ्खला मंगलबारदेखि सुरु हुँदैछ। नेपालले पहिलो खेल मंगलबार नै नामिबियासँग खेल्नेछ भने साउन ७ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले साउन ११ गते नामिबिया र साउन १३ गते नेदरल्यान्ड्ससँग पुनः खेल्नेछ।
नेपाल टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र अर्जुन कुमाल।




