काठमाडौँ,०३ साउन । २३औँ संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज युरोपेली शक्ति स्पेन र साविक विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन्। विश्व फुटबलका दुई प्रभावशाली टोलीबीच हुने यो फाइनल भिडन्तलाई विश्वभरका समर्थकले निकै चासोका साथ प्रतीक्षा गरिरहेका छन्।
स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलको रोमाञ्चक नतिजामा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। फिफाका अनुसार, यस विश्वकपको विशेष पक्ष भनेको वरीयताको शीर्ष चारमा रहेका सबै टोली अन्तिम चारमा पुग्नु हो। विश्वकप इतिहासमा पहिलोपटक यस्तो अवस्था देखिएको भन्दै फिफाले यस संस्करणलाई निकै प्रतिस्पर्धात्मक र उच्चस्तरीय प्रतियोगिताका रूपमा विश्लेषण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसी का अनुसार, अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्दै ‘अल युरोपियन फाइनल’को सम्भावना अन्त्य गरेको हो। अर्जेन्टिनाको जितसँगै विश्व फुटबलमा पुनः एकपटक ल्याटिन अमेरिका र युरोपबीच विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धा सुरु भएको छ।
टिकी–टाका बनाम अर्जेन्टिनाको संघर्षशील शैली
बिबिसीले यस फाइनललाई दुई फरक फुटबल दर्शनबीचको भिडन्तका रूपमा चित्रण गरेको छ। स्पेन आफ्नो परम्परागत ‘टिकी–टाका’ शैली, बल नियन्त्रण र सटीक पासिङका लागि परिचित छ भने अर्जेन्टिना अन्तिम समयसम्म हार नमान्ने संघर्षशील खेल र निर्णायक क्षमताका कारण चर्चामा छ।फिफाले स्पेनको फाइनल यात्रालाई निकै नियन्त्रित र प्रभावशाली भनेको छ। स्पेनले प्रतियोगितामा योजनाबद्ध खेल प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको छ। अर्कोतर्फ अर्जेन्टिनाको यात्रा भने कठिन प्रतिस्पर्धा, चुनौती र संघर्षपूर्ण रहेको फिफाको विश्लेषण छ।
६० वर्षपछि विश्वकपमा पुनः भेट
विश्वकपको इतिहास हेर्दा स्पेन र अर्जेन्टिना उपाधिका लागि पहिलोपटक आमनेसामने हुन लागेका हुन्। यी दुई टोलीबीच विश्वकपको मञ्चमा ६० वर्षपछि पुनः भेट हुन लागेको हो। यसअघि सन् १९६६ को विश्वकप समूह चरणमा भएको भेटमा अर्जेन्टिनाले स्पेनलाई २–१ गोलले पराजित गरेको थियो। त्यसयता विश्वकपमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको छैन। यद्यपि, सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६–१ गोलको शानदार जित निकालेको थियो। तर अहिलेको फाइनल परिस्थिति भने पूर्ण रूपमा फरक रहेको खेल विश्लेषकहरूको बुझाइ छ। विश्वकपको उपाधिका लागि हुने भिडन्तमा दुवै टोली नयाँ रणनीति र उच्च आत्मविश्वासका साथ मैदानमा उत्रने तयारीमा छन्।
मेसी, रोड्री र एन्जो फर्नान्डेजमाथि नजर
यसपटकको विश्वकपमा व्यक्तिगत प्रदर्शनले पनि विशेष चर्चा पाएको छ। स्पेनका मिडफिल्डर रोड्री मध्यभागमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको ९३ प्रतिशत पास एक्युरेसी ले उनलाई टोलीको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गरेको छ। अर्कोतर्फ अर्जेन्टिनाका एन्जो फर्नान्डेजले इजिप्ट र इंग्ल्यान्डविरुद्धको खेलमा निर्णायक प्रदर्शन गर्दै कप्तान लियोनल मेसीलाई बलियो साथ दिएका छन्। अर्जेन्टिनाको आक्रमण र खेल नियन्त्रणमा मेसीको भूमिका अझै पनि महत्वपूर्ण रहनेछ। मेसीको अनुभव, नेतृत्व क्षमता र स्पेनको रणनीतिक खेलबीचको प्रतिस्पर्धाले फाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
सेमिफाइनल विवाद पनि चर्चामा
यसैबीच, इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलको सेमिफाइनलमा अपनाएको अत्यधिक रक्षात्मक रणनीतिको आलोचना भइरहेको छ। साथै, जुड वेलिंघम र भ्यालेन्टिन बार्कोबीच मैदानमा भएको विवादले पनि चर्चा पाएको छ। अब आइतबार राति हुने फाइनल खेलले विश्व फुटबलको नयाँ अध्याय लेख्नेछ। स्पेन आफ्नो खेल शैली र रणनीतिका साथ उपाधि जित्ने लक्ष्यमा छ भने अर्जेन्टिना साविक विजेताको हैसियत कायम राख्दै ट्रफी उचाल्ने दाउमा हुनेछ।
विश्व फुटबलका समर्थकका लागि यो फाइनल केवल उपाधिको खेल मात्र नभई दुई फरक फुटबल शैली, दुई महादेश र दुई शक्तिशाली टोलीबीचको प्रतिष्ठाको लडाइँ बन्नेछ।





