बेनौली (बारा), ८ असार । बारा जिल्लाको पचरौता नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरसभाको बैठकमार्फत प्रस्तुत गरिएको उक्त बजेट नगरको समग्र विकास, प्रभावकारी सेवा प्रवाह तथा स्थानीय नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर तयार गरिएको जनाइएको छ।
नगर उपप्रमुख नसिमा खातुनले बजेट दस्तावेज नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवलाई हस्तान्तरण गरेपछि यादवले सभामा बजेट प्रस्तुत गरेका थिए। नगरपालिकाले सार्वजनिक गरेको बजेटले विकास निर्माणसँगै सेवा प्रवाह सुधार र स्थानीय तहमा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको छ।
नगरपालिकाका अनुसार बजेटका प्रमुख स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान हुन्। संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत झण्डै २९ करोड रुपैयाँभन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त तथा विशेष अनुदानलाई समेत बजेटमा समावेश गरिएको छ।
आन्तरिक आय, राजस्व बाँडफाँड तथा बैंक मौज्दातलाई समेत आधार बनाएर बजेटको कुल आकार निर्धारण गरिएको नगरपालिकाले जनाएको छ। आन्तरिक स्रोत सुदृढीकरणका लागि कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउने रणनीति अपनाइने उल्लेख गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ। सडक, नाला, खानेपानी तथा सार्वजनिक संरचनाको निर्माण र स्तरोन्नतिका लागि उल्लेख्य बजेट विनियोजन गरिएको छ। साथै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, सेवा पहुँच विस्तार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत विशेष जोड दिइएको छ।
कृषि, पशुपालन तथा स्वरोजगार प्रवर्द्धनमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटले लिएको छ। उत्पादनमूलक क्षेत्रको विकाससँगै आर्थिक गतिविधि विस्तार गरी स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने योजना नगरपालिकाले अघि सारेको छ।
सामाजिक विकास तथा समावेशीकरणलाई पनि बजेटले प्राथमिकतामा राखेको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पछाडि परेका समुदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। सामाजिक सुरक्षा र समावेशी विकासलाई थप प्रभावकारी बनाउन लक्षित कार्यक्रमहरू कार्यान्वयन गरिने नगरपालिकाको योजना छ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख जलन्धर सिंहले पचरौता नगरपालिकालाई जिल्लाकै नमुना पालिकाका रूपमा स्थापित गर्ने लक्ष्यसहित नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगर प्रमुख सिंहले बजेट निर्माण तथा तयारी प्रक्रियामा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा नागरिकप्रति आभार व्यक्त गर्दै बजेटको सफल कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार पराजुलीले गरेका थिए।






