काठमाडौं,०१ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत आइतबार भएको कतार र स्विट्जरल्याण्डबीचको खेलअघि धेरैले स्विट्जरल्याण्ड सहज विजयी हुने अनुमान गरेका थिए। विश्व अनुभव, फिफा वरीयता र अघिल्ला प्रदर्शनका आधारमा पनि खेल स्विट्जरल्याण्डको पक्षमा जाने अपेक्षा गरिएको थियो। स्विट्जरल्याण्ड फिफा वरीयतामा १९औँ स्थानमा रहँदा कतार ४९औँ स्थानमा छ। साथै स्विट्जरल्याण्डले १३ पटक विश्वकप खेलिसकेको छ भने कतार दोस्रो पटक विश्वकपमा सहभागी भएको हो।
तर खेलमा उल्टो नतिजा निस्कियो। कतारले उत्कृष्ट प्रदर्शन गर्दै आफूभन्दा करिब ३० स्थान माथि रहेको स्विट्जरल्याण्डलाई १–१ को बराबरीमा रोक्न सफल भयो। स्विट्जरल्याण्डले १७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिए पनि कतारले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बराबरी गर्यो। सन् २०२२ को विश्वकपमा घरेलु आयोजकका रूपमा खेलेको कतार यसपटक छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो। अघिल्लो संस्करणमा जितविहीन बनेको कतारले यसपटक पहिलो खेलमै उल्लेखनीय प्रदर्शन गरेको छ।
एसियाली राष्ट्रहरूको प्रदर्शन यसपटक विशेष रूपमा उल्लेखनीय देखिएको छ। हालसम्म खेलिसकेका चार एसियाली टोली अपराजित रहेका छन्। कतारले स्विट्जरल्याण्डलाई बराबरीमा रोकेको छ भने जापानले नेदरल्याण्ड्ससँग बराबरी खेलेको छ। दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराएको छ भने अस्ट्रेलियाले टर्कीमाथि सहज जित निकालेको छ। युरोप र दक्षिण अमेरिकाका बलिया राष्ट्रहरूलाई समेत चुनौती दिँदै एसियाली टोलीहरूले बलियो उपस्थिति जनाइरहेका छन्।
यसअघि साउदी अरेबियाले सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनालाई पराजित गर्दै विश्व फुटबलमा सनसनी मच्चाएको थियो। त्यस्तै जापानले जर्मनी र स्पेनलाई हराउँदै समूह विजेता बनेको थियो।
सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरिया अहिलेसम्मको सबैभन्दा सफल एसियाली टोली मानिन्छ। यसपटक पनि एसियाली राष्ट्रहरूले विश्वकपमा आफ्नो प्रभाव विस्तार गर्दै गएको देखिएको छ।






