Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
spot_img
29.5 C
Kathmandu

नेपाललाई अमेरिकामाथि ९ विकेटको शानदार जित

spot_img

काठमाडौं,०२ जेष्ठ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत जारी त्रिदेशीय शृङ्खलामा शानदार प्रदर्शन गर्दै संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गर्दै सहज जित दर्ता गरेको हो।

अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले केवल ३६ ओभर ४ बलमै १ विकेटको क्षतिमा पूरा गर्दै घरेलु मैदानमा समर्थकलाई उत्साहित बनायो। नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक बने। उनले आक्रामक तथा संयमित ब्याटिङ गर्दै शानदार शतक प्रहार गरे। कुशलले १ सय १९ रनको अविस्मरणीय इनिङ्स खेल्दै नेपाली टोलीलाई जितसम्म पुर्‍याए। यस्तै अर्का ओपनर आसिफ शेखले पनि उत्कृष्ट साथ दिँदै ५८ रनको योगदान गरे। दुवैले पहिलो विकेटका लागि बलियो साझेदारी गर्दै अमेरिकामाथि दबाब बढाएका थिए। आजकै खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका युवा खेलाडी ईशान पाण्डे २० रनमा अविजित रहँदै टोलीको जितमा सहभागी बने।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाली बलरहरूको कसिलो प्रदर्शनसामु ठूलो स्कोर बनाउन सकेन। अमेरिका ४३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ९५ रनमै समेटिएको थियो। अमेरिकाका लागि समित पटेलले सर्वाधिक ८३ रन बनाए भने शेहान जयसूर्यले ५० रनको योगदान दिए। अन्य ब्याट्सम्यान भने नेपाली बलिङ आक्रमणविरुद्ध टिक्न सकेनन्।   नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारे। उनले अमेरिकाको मध्यक्रमलाई धराशायी बनाउँदै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए। नेपाली बलरहरूले सुरुदेखि नै दबाब कायम राख्दा अमेरिकाले ठूलो साझेदारी बनाउन सकेन।

नेपालमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–टू त्रिदेशीय शृङ्खलामा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी छन्। हालसम्मको अंकतालिकामा नेपाल २६ खेलबाट २० अंक जोड्दै सातौं स्थानमा रहेको छ। अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा रहँदा लगातार दुई खेल जितेको स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा कायम छ।

यसअघि कीर्तिपुरमै सम्पन्न खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान २ रनको झिनो अन्तरले पराजित गरेको थियो। अब नेपालले आफ्नो तेस्रो खेलमा पर्सि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने चौथो खेलमा जेठ ८ गते पुनः अमेरिकासँग खेल्ने तालिका रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once