काठमाडौं,१३ चैत । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ८१ हजार रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सुन २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो एक साताको अवधिमा सुनको मूल्य कुल १३ हजार ५ सय रुपैयाँले घटेको देखिन्छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँले सस्तो हुँदै आज ४ हजार ६७० रुपैयाँमा झरेको छ। हिजो चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।
साप्ताहिक रूपमा हेर्दा चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।





