Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
19.6 C
Kathmandu

पर्सा–१ मा रास्वपाका हरि पन्तको फराकिलो जित, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

spot_img

वीरगंज (पर्सा), २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार पन्तले नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी यादवले भने १३ हजार ३० मत मात्रै पाएका छन् । यसै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । अन्य उम्मेदवारहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द किशोर प्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव) ले १ हजार २७२, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २०१ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अजय चौरसियाले ५३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह (पराग) ले ४१५, स्वतन्त्र उम्मेदवार विशाल कुमारले ३८१, जनमत पार्टीका ओमप्रकाश सर्राफले ३४१ तथा पिपुल फस्ट पार्टीका जाबेद एकबाल हैदरले २५२ मत प्राप्त गरेका छन् । यसैगरी श्रम संस्कृति पार्टीका वसिम शेषले ९०, आम जनता पार्टीका विश्वराज पटेलले ५४, नेपाल जनता पार्टीका सुरेश प्रसाद साह कानुले ४६, जन अधिकार पार्टीका महेश कुमार पासवानले ३४, नेपाल मजदुर किसान पार्टीले १५ तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का शंकर कुमार कर्णले ११ मत प्राप्त गरेका छन् ।

पर्सा–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुवातदेखि नै अग्रता कायम राखेका पन्तले अन्ततः उल्लेखनीय मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।

पराजय स्वीकार्दै प्रदीप यादवले भने ‘जनताको निर्णय सधैं मार्गदर्शक हुन्छ’
यता पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा पराजित भएपछि नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै लोकतन्त्रको मूल सौन्दर्य जनताको मतलाई सर्वोच्च मान्नुमा निहित रहेको बताएका छन् । सोही लोकतान्त्रिक विश्वासका साथ आफूले एमालेको तर्फबाट सूर्य चुनाव चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गरेको उनले उल्लेख गरेका छन् ।

यादवले यसपटक अपेक्षा अनुसारको परिणाम हासिल गर्न नसकेपनि जनताले दिएको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन् । जनताको मत सधैं आफ्नो लागि मार्गदर्शक रहने उल्लेख गर्दै उनले निर्वाचन यात्रामा साथ दिएका सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

निर्वाचन अभियानका क्रममा दिनरात खटिएर सहयोग गर्ने साथीहरू र कार्यकर्ताहरूको मेहनत तथा समर्पणले आफ्नो राजनीतिक यात्रा अझ अर्थपूर्ण बनेको उनले बताएका छन् । यसैबीच उनले प्रतिनिधिसभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धि बहादुर पन्त (हरि पन्त) लाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । क्षेत्र र राष्ट्रको हितका लागि पन्तले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास आफूले लिएको यादवको भनाइ छ ।

निर्वाचनमा हार बेहोरे पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता यथावत रहने उनले स्पष्ट पारेका छन् । समाज र राष्ट्रको समृद्धिका लागि निरन्तर समर्पित भएर अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदै यादवले अन्त्यमा फेरि एकपटक सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once