वीरगंज,१२ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली गाउँ तथा वडा नम्बर ०८ को मुरली बगैंचा र पानीटंकी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई फूलमाला तथा खादा लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए। भेटघाटका अवसरमा स्थानीय तथा युवाहरूले विगतमा विभिन्न दल र उम्मेदवारहरूले विकास र रोजगारीका विषयमा आश्वासन मात्र दिएको तर व्यवहारमा ठोस उपलब्धि हासिल नभएको भन्दै गुनासो व्यक्त गरे।
स्थानीयहरूले चुनाव नजिकिँदा युवाहरूलाई प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितिसकेपछि सम्पर्कविहीन हुने प्रवृत्तिका नेताहरूलाई यसपटक अस्वीकार गर्ने र सक्षम तथा परिणाममुखी नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका क्रममा पार्टीका अध्यक्ष कुलमान घिसिङको काम गर्ने शैलीको प्रशंसा गर्दै सहभागीहरूले उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए।
उम्मेदवार सिंहले आफू निर्वाचित भएलगत्तै स्थानीय समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिलाउने योजना रहेको बताउनुभयो।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्याई क्षेत्रको विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने उहाँको भनाइ थियो।
कार्यक्रममा स्थानीयवासीहरूले आगामी निर्वाचनमा विजयका लागि उम्मेदवार सिंहलाई अग्रिम शुभकामना व्यक्त गरेका थिए। घरदैलो कार्यक्रममा उत्साहजनक जनसहभागिता देखिएको थियो।





