वीरगंज,०३ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगञ्ज महानगरपालिका वडा नं. ४ को बिर्ता टोल र वडा नं. ५ को कुम्हालटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलोका क्रममा सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षा सुन्नुभएको थियो। उहाँले आफू वडा नं. २० बाट निर्वाचित हुँदा प्राप्त अनुभव र जनतासँग नजिकबाट काम गर्दा हासिल गरेको ज्ञानलाई संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले जमीनी तहका जनसमस्यालाई प्राथमिकताका साथ उठान गर्दै देश विकासका लागि आवश्यक र प्रभावकारी कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो। सिंहले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै स्थानीयवासी र युवालाई प्राथमिकता दिने नीति अपनाउने स्पष्ट पार्नुभयो।
“स्थानीय स्रोत र जनशक्तिको उपयोग गर्दै युवालाई अवसर सिर्जना गर्नु नै समृद्धिको आधार हो,” उहाँले भन्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। पार्टीका अनुसार आगामी दिनमा पनि विभिन्न वडामा जनसम्पर्क अभियानलाई निरन्तरता दिइनेछ।





