Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21.9 C
Kathmandu

पर्सा–२ मा टेमानीको सक्रियता, वडा २५ मा युवाको जसपातर्फ आकर्षण

spot_img

वीरगंज,०२ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई तीव्र बनाउँदै बिरगञ्ज महानगरपालिका वडा नं. २५ का मतदाताहरुसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार टेमानीले चुनावी प्रचारप्रसार अभियान अन्तर्गत बुधबार उक्त वडाका विभिन्न टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलोका क्रममा टेमानीले स्थानीयवासीसँग हातेमालो गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे विस्तृत जानकारी लिएका थिए। उनले विकास, रोजगारी र आधारभूत सेवाको पहुँच अभावले ग्रामीण भेगका बासिन्दा अझै पनि समस्या झेल्न बाध्य रहेको उल्लेख गर्दै ती समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

भेटघाटका क्रममा वडा नं. २५ ग्रामीण क्षेत्र भएकाले यहाँ विशेष गरी खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न समस्या रहेको स्थानीयवासीले गुनासो गरेका थिए। कतिपय बस्तीमा स्वच्छ खानेपानीको अभाव रहेको, विद्यालयमा आवश्यक पूर्वाधार र गुणस्तरीय शिक्षाको कमी रहेको तथा स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको उनीहरूको भनाइ थियो।

स्थानीय कृषकहरूले समयमै मल, बीउ र सिँचाइ सुविधा नपाउँदा उत्पादन घट्दै गएको तथा उचित मूल्यमा उपज बिक्री गर्न कठिनाइ भएको गुनासो गरेका थिए। सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता रहेको भन्दै स्वास्थ्य क्षेत्रमा सुधारको माग गरिएको थियो।

उम्मेदवार टेमानीले जनताको समस्या आफ्नै समस्या भएको भन्दै त्यसको समाधानका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर ग्रामीण भेगको समग्र विकासमा जोड दिने बताए। “जनताको आधारभूत आवश्यकता पूरा नगरी समृद्धि सम्भव हुँदैन। त्यसैले यस क्षेत्रका वास्तविक समस्या समाधान गर्न म प्रतिबद्ध छु,” उनले भने।

यसै क्रममा वडा नं. २५ का करिब १५० जना युवाहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूलाई उम्मेदवार टेमानीले स्वागत गर्दै पार्टीको झण्डा हस्तान्तरण गरेका थिए। उनले युवाहरूको सक्रिय सहभागिताले पार्टी र अभियानलाई थप ऊर्जा मिलेको उल्लेख गर्दै युवाको नेतृत्व र सहभागितामा विकास सम्भव हुने बताए।

नवप्रवेशी युवाहरूले पनि क्षेत्रको विकास, रोजगारी सिर्जना र परिवर्तनको आशामा जसपामा आबद्ध भएको बताएका छन्। उनीहरूले यसपटक परिवर्तनका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले आफ्ना समस्या सुन्न उम्मेदवार घरदैलोमा आएकोप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। टेमानीले आगामी दिनमा पनि क्षेत्रका विभिन्न वडामा पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once