वीरगंज,०२ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित कुहडी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले जेष्ठ नागरिक, जेन्जी युवासहित स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव सुनेका थिए। उनले रास्वपा नेतृत्वमा मात्र यस क्षेत्रका पिछडिएका वर्ग, शिक्षक तथा आम नागरिकको पहुँच सुधार सम्भव हुने विश्वास व्यक्त गरे।
कानुले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर स्थायी तथा दिगो रोजगारी सिर्जना गर्नु आफ्नो प्राथमिकता रहेको बताए। “देशभित्रै अवसर सिर्जना गरेर युवालाई यहीँ भविष्य देखाउने वातावरण बनाउनु आवश्यक छ,” उनले भने।
उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई मुख्य एजेन्डाका रूपमा अघि सार्दै जनताको आवश्यकता र चाहनाअनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए। समावेशी विकास, सुशासन र अवसर सिर्जनामा आधारित राजनीतिको पक्षमा रास्वपा दृढतापूर्वक उभिएको पनि उनले उल्लेख गरे।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले परिवर्तनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसपटक विजयी गराउन समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीयवासीहरूले विकास, रोजगारी र आधारभूत सेवामा सुधार हुने अपेक्षासहित कानुको अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।
रास्वपा उम्मेदवार कानुले आगामी दिनमा पनि क्षेत्रका विभिन्न टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने बताएका छन्।






