वीरगंज,२९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको घरदैलो कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीले पर्सा–२ मा परिवर्तनको आशा जागेको प्रतिक्रिया व्यक्त गर्दै यसपटकको मतदानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्रमुख समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल र सिंचाइका लागि पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर पहल गर्ने बताए।
त्यसैगरी बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि सार्दै कानुले निर्वाचित भएसँगै यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
पर्सागढी नगरपालिका वडा नम्बर २ मा सम्पन्न उक्त घरदैलो कार्यक्रममा रास्वपाका नेता शर्फु आलमका अनुसार फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरीलगायतको उपस्थिति रहेको थियो।





