स्थानीय समस्या सदनसम्म लैजाने प्रतिबद्धता, बिन्दवासनी बारवामा रास्वपाको जनसम्पर्क

spot_img

वीरगंज,२६ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नं. १९ बिन्दवासनी बारवा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

जेष्ठ नागरिक, जेन्जी युवाहरू तथा स्थानीय महिलाको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रममा रास्वपाप्रति जनसमर्थन उल्लेखनीय देखिएको थियो। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिएको कार्यक्रमले स्थानीय तहमा नयाँ राजनीतिक विकल्पप्रति बढ्दो विश्वास झल्काएको सहभागीहरूको भनाइ थियो।

घरदैलोका क्रममा स्थानीयवासीहरूले वर्षायाममा नजिकैको नदीमा पानीको सतह बढ्दा खेतीयोग्य जमिन डुबानमा पर्ने र त्यसबाट ठूलो क्षति हुने समस्या प्रमुख रूपमा उठाएका थिए। स्थानीयको यस गम्भीर समस्याप्रति ध्यानाकर्षण गराउँदै रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले आफू निर्वाचित भएमा नदीबाट हुने क्षतिको विषय सदनसम्म पुर्‍याइने र दीर्घकालीन तथा स्थायी समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।

कार्यक्रममा बेरोजगारीको समस्या पनि स्थानीयको मुख्य चिन्ताको विषय बनेको थियो। विशेषगरी घरमै सीमित भएर बस्न बाध्य महिला र रोजगारीको खोजीमा रहेका युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु रास्वपाको प्राथमिकतामा रहेको उम्मेदवार कानुले बताए। उनले स्थानीय महिलालाई पशुपालनसम्बन्धी उच्च सीप तालिम प्रदान गरी त्यसैअनुसार रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गरिने स्पष्ट पारे।

यसका साथै स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उम्मेदवार कानुले निर्वाचित भएपछि यी आधारभूत माग समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी पहल गरिने बताए। “शिक्षा, सीप र रोजगारी एक–आपसमा जोडिएन भने समृद्ध समाज निर्माण सम्भव हुँदैन,” उनले भने।

कृषकहरूले उठाएको अर्को गम्भीर समस्या समयमै मलखाद उपलब्ध नहुनु रहेको उल्लेख गर्दै कानुले वर्षाको पानी र नदीबाट हुने क्षति न्यूनीकरणका उपाय अपनाइने र मलखाद समयमै किसानसम्म पुर्‍याउने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे। कृषि उत्पादन वृद्धि गरी किसानको जीवनस्तर उकास्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ थियो।

घरदैलो कार्यक्रमका क्रममा रास्वपाले सुशासन, पारदर्शिता र व्यवहारिक विकासको सन्देश टोल–टोलमा प्रवाह गरेको छ। स्थानीयवासीहरूले विगतका पुराना आश्वासनभन्दा अब ठोस कार्ययोजना र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा राख्दै नयाँ राजनीतिक नेतृत्वप्रति आशा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once