वीरगंज (पर्सा), २३ माघ । पर्सा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानलाई अझै सशक्त बनाएका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टेमानीले प्रचारप्रसार अभियान अन्तर्गत घरदैलो अभियान, कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रमलाई थप सशक्त बनाएका हुन् ।
सोही अभियान अन्तर्गत शुक्रबार विहान वीरगंज महानगरपालिकाको वडा नं. २६ सुगौलीवीर्तामा जनता समाजवादी पार्टीको अगुवा भेला सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्व मुख्यमन्त्री एवं जसपाका नेता लालबाबु राउत गद्दी, विशिष्ठ अतिथि पूर्वमन्त्री रमेश कुर्मी, पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी लगायत जसपाका नेताहरु विरेन्द्र प्रसाद यादव, आशुतोष चतुर्वेदी, मुसाफिर अन्सारी, रामनाथ कुशवाहा, सकल हजरा पासवान, विरबल यादव, रिजवान अन्सारी, नेतृ करिमा बेगम लगायतको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
भेलालाई सम्बोधन गर्दै विशिष्ठ अतिथि पूर्वमन्त्री रमेश कुर्मीले पर्सा क्षेत्र नं. २ का क्षेत्रबासीहरुको माया स्नेहले आफू दुईपट निर्वाचित भएको स्मरण गराउँदै यस पटक पनि जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य अशोक टेमानीलाई जिताउन आग्रह गरे । उनले आफू निर्वाचित भएयता विकास निर्माणका कार्यहरु गरेको स्मरण गराउँदै यस पार्टीले नै क्षेत्र नं. २ लाई विकासको बाटोतर्फ लग्ने विश्वास व्यक्त गरे ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार टेमानी विगत लामो समयदेखि निःस्वार्थ रुपमा समाजसेवामा सक्रिय रहेको भन्दै यस्ता व्यक्तित्व विजयी भए पर्सा क्षेत्र २ को हरेक किसिमले विकसित हुने बताए । उनले भने, ‘उद्योगीले मात्रै यस क्षेत्रको विकास गर्न सक्छ, जसरी तपाईहरु हिम्मत लगाएर मलाई जिताउनुभयो, त्यसैगरि नै जसपाका उम्मेदवार टेमानीलाई पनि जोडतोडका साथ लागेर जिताउनुस् ।’
उनले भने, ‘भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारको अभाव जस्ता समस्यालाई अन्त्य गर्न तीनै तहको सरकारमा आफ्नो पार्टीका उम्मेदवार आवश्यक छ । प्रदेशमा आफ्नो पार्टीको प्रतिनिधि छदैछ, स्थानीय तहमा आफ्नै हुन्छ, संघमा आफ्नो उम्मेदवार विजयी गराउनुस्, प्रभावकारी समन्वय हुन्छ र पहिलाभन्दा तीन गुना बढि विकास हुन्छ’ ।
त्यसैगरि भेलालाई सम्बोध गर्दै जसपा नेतृ करिमा बेगमले हरेक जातजातिको पहिचान, अधिकारको लागि लड्ने पार्टी जसपा नै रहेको स्मरण गराउँदै भूमि आयोगको लागि लड्ने पनि यही पार्टी रहेको बताइन् । उनले भनिन्, ‘व्यक्ति परिवर्तन हुन सक्छ, तर पार्टी र एजेण्डा परिवर्तन हुँदैन, आज हामी नयाँ अनुहार लिएर आएका छौं, जनताको दुःख, पीडा, समस्या बुझ्ने सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय अशोक टेमानी जस्तो व्यक्तिलाई पर्सा क्षेत्र नं. २ मा आवश्यकता रहेको महसुस गर्दै जसपाले उनलाई चुनावी मैदानमा उतारेको छ, उहाँलाई सबै मिली जोडतोडका साथ लागेर जिताउनुपर्छ ।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आफू भाषण भन्दा पनि काम गर्न राजनीतिमा आएको हुनाले एक पटक मौका दिन आग्रह गरे । उनले भने, ‘यस क्षेत्रका जनताको समस्यालाई दीर्घकालीन समाधान गर्नको निम्ति निर्वाचन मैदानमा उत्रिएको छु, काम गर्न आएको छु, भाषण भन्दा पनि काम गरेर देखाउँछु, एक पटक मौका दिनुस्, तपाईहरुको विश्वास तोड्दैन’ ।
भेलामा सहभागी युवा तथा कार्यकर्ताहरुले सबै एकजुट भई टेमानीलाई जिताउन प्रतिबद्धता जनाएका थिए । उनीहरुले अन्य दलका नेताहरु यस क्षेत्रबाट निर्वाचित भएपनि हालसम्म कुनै किसिमको विकास निर्माण कार्य सन्तोषजनक गर्न नसकेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासको लागि जसपाको विकल्प नरहेको भन्दै जसपा उम्मेदवार टेमानीलाई विजयी बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताए ।





