Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

पर्सामा मधेशवादी एकता प्रदर्शन, अशोक टेमानीलाई जिताउने संकल्प

spot_img

वीरगंज,२१ माघ । वीरगंज महानगरपालिका वडा नं. १० स्थित जनता समाजवादी पार्टी (जसपा) को कार्यालयमा मधेशवादी दलका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थितिमा भेला सम्पन्न भएको छ ।

मतदाता नामावली प्रकाशनअघि नै केन्द्रमा मधेशवादी धारका दलहरूबीच समन्वय र एकता भइसकेको अवस्थामा जिल्लामा छरिएर रहेका मधेशवादी शक्तिहरूलाई एकै मञ्चमा उभ्याउने आवश्यक रहेको निष्कर्षसहित वीरगंजमा मधेशवादी धारका दलका जिल्ला कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा जसपाका नेता लालबाबु राउत गद्दीले पार्टीप्रति अनुशासित भई सक्रियतापूर्वक अघि बढ्न आग्रह गरे । उनले प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीलाई विजयी गराउन प्रत्येक कार्यकर्ताले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक खटिनुपर्ने बताए ।

पर्साको चारै निर्वाचन क्षेत्रमा जसपाबाट उम्मेदवारहरू चुनावी मैदानमा रहेकाले सबैलाई विजयी गराउने लक्ष्यसहित आजैदेखि औपचारिक रूपमा प्रचार–प्रसारमा जुट्न उनले आग्रह गरे । राउतले मधेशको भावना, पहिचान र मधेशी जनताको हकअधिकार सुनिश्चित गर्न मधेशी दलहरूबीच एकता अपरिहार्य रहेको नै केन्द्रमा एकजुट भएको भन्दै जिल्लामा रहेको सबै मधेशवादी दलका नेता कार्यकर्ताहरु एकजुट भई अघि बढ्न आग्रह गरे । ‘औपचारिक संरचनागत एकता नभएपनि निर्वाचनका सन्दर्भमा मधेशी दलहरूको एजेण्डा एउटै छ,’ उनले भने, ‘यही साझा एजेण्डाका आधारमा पर्साको चारै क्षेत्रमा जसपाका उम्मेदवार रामनरेश यादव, अशोक टेमानी लगायतलाई विजयी गराउन सबै एकजुट हुनुपर्छ ।’ मधेशी शक्तिहरू एकै ठाउँमा उभिएकोमा उनले खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले पनि विभिन्न धारमा विभाजित व्यक्तित्वहरू एकढिक्का भएको देख्दा आफू उत्साहित भएको बताए । ‘एकढिक्का हुँदा पार्टी अझ मजबुत हुन्छ,’ उनले भने, ‘विगतमा जनताले धेरै पटक नेताबाट धोका खाएका छन्, अब व्यक्ति चिनेर जिताउने समय आएको छ ।’ टेमानीले मधेशको वर्तमान अवस्था दयनीय रहेको, गाउँघरमा आधारभूत विकाससमेत नपुगेको उल्लेख गर्दै विगतमा निर्वाचित प्रतिनिधिहरूले अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे । ‘अब विकासको ढोका खोल्ने मौका आएको छ, यो अवसर गुमाउनु हुँदैन,’ उनले जोड दिए ।

भेलामा निर्वाचन अभियान कसरी प्रभावकारी बनाउने, घरदैलो र प्रचार–प्रसारमा कसरी सक्रिय हुने, मतदातामाझ पार्टीको एजेण्डा र उम्मेदवारको पृष्ठभूमि कसरी स्पष्ट रूपमा पुर्‍याउने भन्ने विषयमा पनि विस्तृत छलफल गरिएको थियो । विशेषगरी युवाहरूलाई अग्रपङ्क्तिमा उभ्याएर जनसम्पर्क अभियान तीव्र बनाउने रणनीतिमा जोड दिइएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य विरेन्द्र यादव, जिल्ला कार्यवाहक अध्यक्ष सन्तोष तिवारी, वीरगंज महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य भरतभूषण पाण्डे, केन्द्रीय उपाध्यक्ष अँकुश पटेल, युवा अध्यक्ष विक्रम मुखिया, जिल्ला सचिव योगेन्द्र शर्मा, सदस्य हरिन्द्र शर्मा लगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

भेलाले मधेशवादी शक्तिहरूबीच आपसी विश्वास, समन्वय र साझा लक्ष्यलाई सुदृढ गर्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ । आगामी निर्वाचनलाई लक्षित गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने र जिल्लाभर कार्यकर्तालाई संगठित रूपमा परिचालन गरिने जनाइएको छ । आयोजकहरूले यस भेलालाई पर्सामा मधेशवादी एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once