Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

निर्वाचन सुरक्षाका लागि ८० हजार सेना र लाखौं सुरक्षाकर्मी परिचालन

spot_img

काठमाडौँ,२० माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना २०८२ अनुसार बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुने भएका छन्।

सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्थालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन हुन लागेका हुन्।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ। सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गर्दै सुरक्षा व्यवस्था मिलाउनेछ।

नेपाली सेनाले भने बाहिरी सुरक्षा घेरामा रही निर्वाचन सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ। निर्वाचन प्रयोजनका लागि नेपाली सेना देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो। सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई केन्द्रमा राखी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा गरिने र संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ।

नेपाली सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनपूर्वदेखि मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थल सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।

मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिनेछ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। यसपटक कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्, जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। नेपाल प्रहरीका तर्फबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन् भने जनशक्ति अभाव पूर्ति गर्न एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।

मतदानस्थललाई २ हजार ८४५ सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अति संवेदनशीलका रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालतर्फ ३४ हजार ५७६ सुरक्षाकर्मी र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जनशक्ति परिचालन गरिनेछ। निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once