काठमाडौँ,१८ माघ । हेटौँडा बजार क्षेत्रको सडक विस्तारसम्बन्धी विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि मुद्दा आठौँ पटक सुनुवाइका लागि पेसी तोकिएको छ। उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
यस मुद्दामा यसअघि एक पटक ‘हेर्न नमिल्ने’ र पाँच पटक ‘हेर्न नभ्याइने’ आदेश भएको थियो भने एक पटक मिसिल कागजात झिकाउने आदेश जारी गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारसहित छ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरलगायत निकायहरूले सडक विस्तारको प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र उचित मुआब्जाको माग गर्दै स्थानीयवासीहरू गत मङ्सिर १६ गते सर्वोच्च अदालत पुगेका थिए। सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
यसअघि मङ्सिर २६ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। सोही दिन न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले थप सुनुवाइका लागि ‘मिसिल झिकाउने’ आदेश समेत जारी गरेको थियो।





