सिरहा,१६ माघ । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ निवासी ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार नजिक आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका बेला अज्ञात व्यक्तिले गोली चलाएका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला प्रेमनाथ यादवमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए ।
उनले भने, “मैले पनि कसैले गोली दागेर हत्या गरेको भन्ने कुरा सुनेको छु । घटनाबारे थप बुझ्दै छु । अहिले अस्पतालतर्फ जाँदै छु।”
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए ।
तर कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





