काठमाडौं,१६ माघ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा घुम्ती क्षेत्रमा पल्टिएको हो ।
दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइते यात्रुहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाएको छ । प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ ।
बस दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक अहिले खुलिसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।





