Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
19.1 C
Kathmandu

जीवन बीमा व्यवसायमा १७% वृद्धि, ६ महिनामा २१ अर्बभन्दा बढी नयाँ कारोबार

spot_img

काठमाडौं,१४ माघ ।  नेपाली जीवन बीमा बजारमा चालु आर्थिक वर्षमा उल्लेखनीय वृद्धि देखिएको छ। ग्राहक केन्द्रित योजना, डिजिटल पहुँच, नयाँ बीमा उत्पादन र वित्तीय सचेतनाको सुधारले कम्पनीहरूको व्यवसाय विस्तारमा ठूलो योगदान दिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म कुल ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। प्राधिकरणका अनुसार यो रकम गत वर्षको तुलनामा १७ प्रतिशतले बढेको हो।

कुल बीमा शुल्कमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले गत वर्षको तुलनामा १३.६ प्रतिशत वृद्धि गर्दै २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ जसले १८.३७ प्रतिशत वृद्धि गर्दै ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ। सरकारी स्वामित्वको एलआईसी नेपालले ८.९ प्रतिशत वृद्धि हुँदै १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ।

अन्य कम्पनीहरूमा हिमालयन लाइफ इन्स्योरेन्सले ८ अर्ब ६२ करोड २० लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ६६ करोड ६५ लाख, एसियन लाइफ इन्स्योरेन्सले ४ अर्ब ६४ करोड, सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख, सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड, मेट लाइफले ३ अर्ब २४ करोड, आइएमई लाइफले ३ अर्ब १८ करोड ९८ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ४४ लाख, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड ६८ लाख र सन नेपाल लाइफले २ अर्ब ११ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मा २१ अर्ब ६४ करोड

चालु वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मा २१ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेका छन्। नयाँ व्यापार गत वर्षको सोही अवधिको तुलनामा २५.२६ प्रतिशतले बढेको छ। यसमा नेपाल लाइफले ५ अर्ब ९९ करोड १७ लाख रुपैयाँ आर्जन गर्दै अग्रस्थान कायम गरेको छ।

नेशनल लाइफले ३ अर्ब १० करोड ९४ लाख, एलआईसी नेपालले १ अर्ब ६८ करोड १० लाख, सूर्यज्योति लाइफले १ अर्ब ४४ करोड ३६ लाख, सिटिजन लाइफले १ अर्ब २९ करोड ८२ लाख, हिमालयन लाइफले १ अर्ब १६ करोड ५४ लाख रुपैयाँ नयाँ व्यवसाय आर्जन गरेका छन्।

नविकरण बीमा शुल्क ७२ अर्ब ७३ करोड

नविकरण बीमा शुल्कमा पनि वृद्धि देखिएको छ। चालु वर्ष पुस मसान्तसम्म नविकरण बीमा शुल्क ७२ अर्ब ७३ करोड ९६ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १४.७५ प्रतिशतले बढेको हो।

नेपाल लाइफले १९ अर्ब ५२ करोड १३ लाख, एलआईसी नेपालले ८ अर्ब ५४ करोड ४२ लाख, नेशनल लाइफले ८ अर्ब २६ करोड ३६ लाख, हिमालयन लाइफले ७ अर्ब ४५ करोड ६५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७१ करोड २७ लाख र सूर्यज्योति लाइफले ४ अर्ब २२ करोड २९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन्।

बीमा बजारमा नयाँ व्यवसाय र नविकरण दुवैमा वृद्धि देखिनुले नेपाली जीवन बीमा बजारको स्थायित्व र दीर्घकालीन विकासका सम्भावनाहरू बलियो रहेको संकेत गर्दछ।बीमा बजारमा वृद्धि ग्राहक केन्द्रित योजना, डिजिटल पहुँच, नयाँ बीमा उत्पादन र वित्तीय सचेतनाको सुधारका कारण भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once