Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

मधेशमा हराउने व्यक्तिको संख्या भयावह, ६ महिनामा २५७२ जना सम्पर्कविहीन

spot_img

जनकपुर ,१४ माघ । मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरूको संख्या अत्यन्तै चिन्ताजनक रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बुधबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत तथ्याङ्कअनुसार पछिल्लो ६ महिनाको अवधिमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट जम्मा २ हजार ५७२ जना व्यक्ति हराएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार हराउने व्यक्तिहरूको संख्या क्रमशः बढ्दै गएको देखिएको छ। विशेषगरी पुस महिनामा मात्र १ हजार ४४८ जना व्यक्ति हराएको तथ्याङ्कले समस्या गम्भीर बन्दै गएको संकेत गरेको छ।

हराएकामध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने बाँकी व्यक्तिहरू अझै पनि सम्पर्कविहीन अवस्थामा रहेका छन्।

जेनजी आन्दोलनमा ठूलो जनधनको क्षति

प्रवक्ता थापाले पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका क्रममा भएका क्षतिहरूको विवरण पनि सार्वजनिक गरेका छन्। उनका अनुसार उक्त आन्दोलनका क्रममा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको थियो।

सो आन्दोलनका क्रममा मधेश प्रदेशका २३४ वटा सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। सरकारी कार्यालयहरूमा भएको क्षतिको कुल मूल्याङ्कन ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबर रहेको छ।

यसैगरी आन्दोलनका क्रममा प्रदेशभर प्रहरीको प्रयोगमा रहेका सवारी साधनहरूमा पनि क्षति पुगेको छ। प्रहरी सवारी साधनमा भएको क्षतिको कुल मूल्याङ्कन २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबर रहेको प्रवक्ता थापाले जानकारी दिए।

कैदीबन्दी र बाल सुधार गृहबाट फरार

जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूमध्ये विभिन्न स्थानबाट ५ सय ७९ जना पक्राउ परिसकेका छन् भने बाँकी अझै फरार अवस्थामा रहेका छन्।

त्यसैगरी बाल सुधार गृहबाट ६८ जना फरार भएका थिए। तीमध्ये २० जना पक्राउ परेका छन् भने ४८ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

मधेशका मतदान स्थलमध्ये अधिकांश अतिसंवेदनशील

मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा जम्मा २ हजार १६० वटा मतदान स्थल रहेका छन्। तीमध्ये

१५९ वटा सामान्य,

७५५ वटा संवेदनशील,

१ हजार २४६ वटा अतिसंवेदनशील मतदान स्थल रहेका छन्।

मतदान स्थलको संवेदनशीलता अनुसार सुरक्षाकर्मीको संख्या निर्धारण गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once