रौतहट,१४ माघ । सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई शङ्कास्पद नोटसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत, जिल्ला सितामढी पर्सौनी बस्ने करिब ४२ वर्षीय राकेश कुमार साह र जिल्ला सितामढी सिभवर परिषद–४ बस्ने करिब ३० वर्षीय विक्रम कुमार पासवान रहेका छन्। उनीहरूले प्रयोग गरेको मोटरसाइकल (विआर ३० ए एफ ५७३१ नम्बर) समेत प्रहरीले बरामद गरेको छ।
जाँचका क्रममा उनीहरूको साथबाट करिब भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोट फेला परेको छ। बरामद रकममा ५०० भारु दरको १ थान नोट र २०० भारु दरका १० थान नोट रहेका छन्।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टका अनुसार उनीहरूको साथबाट १७७ भारु सक्कली नोट, मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल पनि बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ। सशस्त्र प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।





