काठमाडौँ,१० असोज । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी हुँदा प्रणालीमा गम्भीर समस्या उत्पन्न भएपछि विभागले यस्तो निर्णय लिन बाध्य भएको हो।
किन रोकियो सेवा ?
विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार आगजनीका कारण सर्भरमा ठूलो क्षति पुगेको र प्रणाली सञ्चालनमा समस्या देखिएको छ। हाल सर्भर मर्मतसम्भार कार्य द्रुत गतिमा भइरहेको विभागले जनाएको छ। मर्मत सम्पन्न नभएसम्म चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा तथा अन्य आवश्यक कार्य अर्को सूचना प्रकाशित नभएसम्म उपलब्ध नहुने स्पष्ट पारेको छ।
सेवाग्राही प्रभावित
सेवा बन्द भएपछि नयाँ चालक अनुमति पत्र आवेदन, नवीकरण, सवारी दर्ता, नामसारी लगायतका कार्य गर्न चाहने सेवाग्राही प्रभावित भएका छन्। विभागले सेवाग्राहीलाई असुविधा भए पनि समस्याको छिटो समाधानका लागि प्रयास भइरहेको जनाएको छ।





