Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

नेपालमा फेला परे छेपारोका दुई नयाँ प्रजाति

spot_img

काठमाडौँ,०९ असोज । नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संरक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन् ।

वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुर गढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरिएको जनाइएको छ ।

उक्त प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तर्राष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशितसमेत भइसकेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । भट्टराई फेडेरेसन युनिभर्सिटी अस्ट्रेलियामा छेपारोकै विषयमा विद्यावारिधि गरिरहेका छन् ।

उनका अनुसार ती दुई प्रजाति चुरे (सिवालिक) पर्वत श्रृंखलाबाट भेटिएका हुन् । चुरे (सिवालिक) क्षेत्र जैविक विविधतामा समृद्ध भए पनि कम अध्ययन गरिएको क्षेत्रमा पर्छ । भट्टराईको टोलीले गत जुन/जुलाई २०२४ मा उक्त प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि हालै जर्नलमा प्रकाशित गरिएको हो ।

मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुर गढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको हरिहरपुरको चुरे पर्वत श्रृंखलामा भेटिएको छेपारोको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ ।

मुख्य शोधकर्ता सन्तोष भट्टराईको टोलीले विद्यावारिधि अध्ययनका क्रममा सन् २०२४ को जुन–जुलाई महिनामा नयाँ प्रजाति फेला पारेका थिए । उक्त टोलीले गत वर्ष पनि वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालबाट तीन वटा प्रजाति फेला पारी नामकरण गरेका थिए ।

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारा संसारभरी ३८० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका दुई सहित जम्मा सात प्रजाति फेला परेको छ । जसमध्ये पाँच वटा प्रजाति भट्टराईकै नेतृत्वको समूहले फेला पारी नामकरण गरेका हुन् ।

सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठुला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिहरूको रेकर्ड हुन बाँकी नै रहेको जनाइएको छ । सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन अनुसन्धान तथा संरक्षणमा प्राथमिकीकरण गर्नुपर्ने देखिएको संरक्षणकर्मीहरूले बताएका छन् ।

अध्ययनका लागि नेपालका संरक्षणकर्मी सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी रहेका थिए ।

वरिष्ठ संरक्षणकर्मी करण शाहले भने, ‘उक्त टोलीले हालै फेला पारेको यो माउसुली परिवारको किरा फट्याङ्ग्रे खाने छेपारो हो । बालीनाली नोक्सान, लुगाफाटो नोक्सान गर्ने चिजलाई खाएर यसले जोगाउने काम गर्छ र यो छेपारो धेरै जीवजन्तुको आहारा पनि हो । त्यसैले यसले समग्र प्रणालीलाई सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ र यसको प्रयोग औषधिका रूपमा पनि गरिन्छ ।’

गएको वर्ष फेला पारिएको तीन प्रजातिमध्ये एउटाको नाम वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको योगदान स्वरूप उनकै नाममा ‘करण वेन्ट–टोड गेक्को’ राखिएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once