काठमाडौँ,०७ असोज । आश्विन शुक्ल द्वितीया तिथिमा नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा–आराधना गरिन्छ। ‘ब्रह्मा’ शब्दको अर्थ तपस्या, अर्थात् कठोर तप गर्ने भन्ने हुन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन् भने दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएको स्वरुपमा चित्रित गरिएको छ।
पौराणिक मान्यता अनुसार, भगवान शिवलाई प्राप्त गर्न माता पार्वतीले हजारौँ वर्षसम्म कठोर तपस्या गर्दै ब्रह्मचर्य धारण गरेकी थिइन्। उनले प्रारम्भमा फलफूल, त्यसपछि साग, अनि बेलपत्र मात्र खाएर कठोर तपस्या गरिन्। अन्ततः बेलपत्र पनि त्यागेर खुला आकाशमुनि निराहार तप गरी धैर्य र आत्मबलले तपस्या निरन्तर जारी राखिन्। उनको तपस्याबाट तीनै लोकमा हाहाकार मच्चियो र अन्ततः पितामह ब्रह्माले प्रसन्न भई उनको मनोकामना पूरा हुने आशीर्वाद दिएका थिए।
धार्मिक विश्वासअनुसार ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गरिन्छ। विद्यार्थी, साधक र योगीहरूका लागि विशेष फलदायी मानिने ब्रह्मचारिणीको आराधनाले आयु, शक्ति, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने विश्वास गरिन्छ।
पूजाविधि
यस दिन देवीलाई फूल, अक्षत, रोली र चन्दन अर्पण गर्ने चलन छ। दूध, दही, सख्खर, घृत वा मधुले स्नान गराई फलफूल, पकवान र पुष्प अर्पण गरी प्रसाद चढाइन्छ। कलश देवता, नवग्रह, दशदिक्पाल, नगरदेवता र ग्रामदेवतासहित पूजा गरी अन्त्यमा हातमा फूल लिएर प्राथना गर्ने गरिन्छ।
श्रद्धा भक्तिले गरिएको ब्रह्मचारिणीको आराधनाले अनन्त शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।





