काठमाडौँ,०६ असोज । पटक–पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको अरनिको राजमार्ग अन्ततः अस्थायी रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि अवरुद्ध रहेको कोदारी खण्डमा हाल प्रयोगमा ल्याइएको सडक विभागले जनाएको छ ।
यो वर्षको भारी वर्षाका कारण कोदारी क्षेत्रमा पहिरोको उच्च जोखिम देखिँदै आएको छ । विभागका अनुसार गत साउन ४ गते १८ दिनपछि राजमार्ग सञ्चालनमा आए पनि ९ भदौमा पुनः अवरुद्ध भएको थियो। त्यसपछि १५ भदौमा सडक खुले पनि भोलिपल्ट १६ गतेदेखि पुनः पहिरो खसेर यातायात अवरुद्ध भएको थियो।
वर्षासँगै लगातार डुङ्गासहितको लेदो बगिरहनु, भीषण पहिरो र भोटेकोसी नदीको कटानले मर्मत कार्यमा कठिनाइ भएको विभागको भनाइ छ। स्थानीय केही बासिन्दाका घरमा क्षति पुगेपछि उनीहरूद्वारा अवरोध सिर्जना भएकोले पनि काममा ढिलाइ भएको जनाइएको छ।
असोज २ गते रातिको वर्षाले थप चार स्थानमा पहिरो खसेपछि राजमार्ग सञ्चालनमा थप चुनौती उत्पन्न भएको थियो । हाल अस्थायी रूपमा पहिरो प्रभावित क्षेत्रहरू प्लास्टिकले ढाकिएको छ भने पहिरोभित्रको पानी निकाल्न ड्रिलिङ गरिएको छ।
सडक विभागले कोदारी क्षेत्रमा स्थायी समाधानका लागि डिजाइन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । यसका लागि भूगर्भविद् र इन्जिनियरको टोली खटाइएको विभाग स्रोतको भनाइ छ।





