वीरगंज,०६ असोज । हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइन्छ।
पर्वको पहिलो दिन घटस्थापनामा बिहानै दियो, कलश र गणेश स्थापना गरी पूजा आराधना थालिन्छ। घर–घरमा पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरिन्छ। जमरा रोपेर देवीलाई चढाइने परम्परा आजैदेखि सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ९:१३ बजे उत्तम रहेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयकालमा प्रतिपदा परेकोले आजै घटस्थापना गर्ने निर्णय गरिएको हो।
दसैँभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ। महाअष्टमी र महानवमीका दिन विशेष बलिपूजा हुने परम्परा छ भने विजया दशमीका दिन असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा टीका–जमरा ग्रहण गरिन्छ।
यस वर्ष विजया दशमी असोज १६ गते पर्नेछ। देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीकाको उत्तम साइत बिहान ११:५३ बजे रहेको समितिले जनाएको छ।
राजधानीको हनुमानढोका दरबारस्थित दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार घटस्थापना गरी दुर्गा पूजा आरम्भ भएको छ। महानवमीका दिन कोतमा ५४ बोका र ५४ राँगासहित बलि दिने परम्परा पनि यस वर्ष कायम रहनेछ।
बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिने गरिन्छ। रोजगारी, अध्ययन वा अन्य कारणले घरभन्दा टाढा रहेका परिवारजन यस अवसरमा घर फर्केर आफन्तसँग मिलेर पर्व मनाउने परम्परा छ।





