Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

वीरगंज महानगरको बजेट संशोधन, पुनःनिर्माणलाई प्राथमिकता

spot_img

वीरगंज,०४ असोज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी नगर पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष नगरसभा (विशेष अधिवेशन) ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहितका संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनेपछि नगरवासीलाई निरन्तर सेवा प्रवाह गर्न पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नगरसभाले बजेट संशोधनको निर्णय गरेको हो ।

विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेश गर्नुभयो । यसअघि १७औँ नगर परिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटभित्र नगरस्तरीय पूँजीगत योजना र सामाजिक विकास कार्यक्रमका रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार विकास योजनाहरू अस्थायी रूपमा स्थगित गरिने र कार्यपालिका बैठकमार्फत पुनःनिर्माणका कार्यहरूको शीर्षक तय गरिनेछ ।

त्यसैगरी, विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगंज महानगरपालिका वडा नं. १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ ।

नगरसभाले संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once