काठमाडौं,२६ भदौ । जेन–जी आन्दोलनमा सक्रिय ‘हामी नेपाल’ समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा प्रस्तावित अन्तरिम मन्त्रिमण्डललाई समर्थन गर्ने घोषणा गरेको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष सुदन गुरुङले संसद् विघटनलाई मुख्य राजनीतिक एजेन्डा बनाउँदै नयाँ राजनीतिक व्यवस्थातर्फ अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरे। उनले भने, “पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ व्यवस्था अघि बढाउने प्रस्तावमा धेरैको सहमति जुटिसकेको छ। हामी उहाँको नेतृत्व मान्न तयार छौँ। अब संसद् विघटन गरेर मात्रै नयाँ मार्गचित्र अघि बढ्न सक्छ।”
उनका अनुसार जेन–जी पुस्ताको नेतृत्वमा बन्ने मन्त्रिमण्डलले आम जनताको प्रतिनिधित्व गर्नेछ, र त्यसको निगरानी पनि यही पुस्ताले गर्नेछ। “हामी अनुकूल हुने नेतृत्व संरचना बनाउनेछौं, जुन पारदर्शी र उत्तरदायी हुनेछ,” गुरुङले स्पष्ट पारे।
यसअघि नेपाली सेनाका प्रधानसेनापति सहितका सरोकारवाला निकायसँग भएका छलफलमा ‘हामी नेपाल’ समूहका प्रतिनिधिहरू पनि सहभागी थिए। गुरुङले मन्त्रिमण्डल निर्माण, कार्यविभाजन तथा संवैधानिक प्रक्रियाबारे छलफल अझै जारी रहेको जानकारी दिए।
‘हामी नेपाल’ समूहको यो औपचारिक धारणा सार्वजनिक भएसँगै देशमा राजनीतिक संक्रमणको नयाँ चरण सुरु भएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ।





