वीरगंज,०८ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा वीरगंज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा सञ्चालन गरिएको ‘सेल्फ डिफेन्स युएसी अनुशिक्षण तालिम’ भदौ ८ गते सम्पन्न भएको छ।
साउन २८ गतेदेखि सुरु भएको तालिममा नं. १३ गण हे.क्वाबाट १० जना (५ महिला र ५ पुरुष) र मातहत युनिटहरूबाट २५ जना (५ महिला र २० पुरुष) गरी कुल ३५ जना सशस्त्र प्रहरी कर्मचारी सहभागी भएका थिए।
तालिमलाई सफल बनाउन ४ ड्यान ब्ल्याक बेल्ट एशियन प्लेयर तथा प्रमुख प्रशिक्षक महमद वेशसहित ९ जना प्रशिक्षकहरूको सक्रियता रहेको थियो। प्रशिक्षकहरूमा प्रथम बर्णवाल, ईमरान शेख, रोशन पटेल, सुजित यादव, राजन गुप्ता, हिमानी गुप्ता, नेहा झा, सन्तोष कुमार रौनियार लगायतको योगदान उल्लेखनीय रह्यो।
आत्मरक्षा तालिमले सशस्त्र प्रहरीको कार्य दक्षता, आकस्मिक परिस्थिति व्यवस्थापन क्षमता र आत्मविश्वासमा वृद्धि गर्ने बताउँदै यसको निरन्तरता आवश्यक रहेकोमा सशस्त्र प्रहरी उपरिक्षक पुरनचन्द्र भट्टले वताए । उनले यस्ता तालिमहरूलाई आगामी दिनमा निरन्तरता दिने जानकारी गराए ।
आयोजकहरूको विश्वास अनुसार, तालिमले सुरक्षाकर्मीलाई अझ दक्ष, आत्मविश्वासी र जिम्मेवार बनाउन मद्दत गर्नेछ।





