Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

सावनको छुट्टीमा तीर्थ र घुमघाम : धार्मिक तथा पर्यटकीय स्थलमा भीड बढ्दो

spot_img

सेढवा,१४ साउन । पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाहरू सावन महिनामा धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणमा सक्रिय बन्दै गएका छन्। धान रोपाइँको मुख्य सिजन सकिएपछि स्थानीयवासीहरू नेपाल तथा भारतका विभिन्न तीर्थस्थल र पर्यटकीय स्थानहरूको भ्रमणमा निस्किन थालेका छन्।

एकातर्फ सामुदायिक विद्यालयहरूमा वर्षे बिदा परेकाले शिक्षक तथा विद्यार्थीहरू समय सदुपयोग गर्दै भ्रमणमा निस्किरहेका छन् भने अर्कातर्फ आर्थिक रूपले सबल नागरिकहरू काठमाडौं, पोखरा, लुम्बिनी, बुटवल, भैरहवा, धरान, इलाम, झापा जस्ता भित्रि पर्यटकीय गन्तव्यहरूमा गइरहेका छन्।

भारतका सुलतानगंज, देवघर, बासकीनाथ, गंगासागर, जगरनाथपुरी, कलकता, उडिसा लगायतका तीर्थस्थलमा पनि पर्साका सयौँ श्रद्धालुहरू दर्शन र पूजाआर्जनका लागि गइरहेका छन्। जिराभवानी गाउँपालिका–२, सेढवाका बस सञ्चालक विजय यादवले सावन १० गते ५० जना यात्रुहरूलाई लिएर भारत भ्रमणमा गएका छन्। उनले बिहार, झारखण्ड, पश्चिम बंगाल र उडिसाका धार्मिकस्थलहरूको १० दिनको भ्रमण गराउने जानकारी दिएका छन्।

स्वदेशी गन्तव्य पनि उत्तिकै लोकप्रिय
पेटर्वासुगौली गाउँपालिका कार्यालयका योजना शाखा प्रमुख राजकुमार महतोले स्वदेशको प्युठानस्थित प्रसिद्ध स्वर्गद्वारी धामको भ्रमण गरी फर्किएको जानकारी दिए। करिब ४ सय किलोमिटर मोटरसाइकल यात्रा पछि त्यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले आफूलाई मोहित बनाएको उनले बताए।

दर्जनौं गन्तव्य, सयौं यात्रु
यात्रुहरू दिल्ली, मुम्बई, गोवा, गोरखपुर, अयोध्या, कानपुर, आगरा, हरिद्वार, ऋषिकेश, दार्जिलिङ, सिक्किम, बैष्णोदेवीलगायत स्थानहरूतर्फ पनि गइरहेका छन्। आर्थिक रूपमा सामान्य अवस्थाका सर्वसाधारणले भने कम खर्चिलो तथा नजिकका गन्तव्यहरू रोज्ने गरेका छन्।

त्रिबेणी नदीबाट कावर यात्रा प्रस्थान
जिराभवानी गाउँपालिकास्थित बाबा बटेश्वर नाथ कावरिया संघको आयोजनामा बिहीबार त्रिबेणी नदीबाट जल भर्ने तथा त्यसलाई जिराभवानी मन्दिरमा अर्पण गर्ने एक साताको कावर यात्रा आरम्भ हुँदैछ। उक्त यात्रामा दुई दर्जनभन्दा बढी गाउँका ५०० भन्दा बढी यात्रु सहभागी हुने आयोजकले जनाएका छन्।

स्वर्गद्वारी यात्राका लागि एक सयभन्दा बढी यात्री प्रस्थान
थारु पत्रकार संघ नेपाल पर्साका अध्यक्ष शम्भु महतो थारुका अनुसार बिहीबार पटेर्वासुगौली गाउँपालिकाबाट एक सयभन्दा बढी श्रद्धालु मोटरसाइकल यात्रामा निस्कनेछन्। उनीहरू भारतको बिहार हुँदै परासी, लुम्बिनी मार्गबाट स्वर्गद्वारी धाम पुग्नेछन्। यसै अवसरमा धेरै श्रद्धालुहरूले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका दुधेश्वर महादेव मन्दिर, रामभौरी भाथा र ठोरी क्षेत्रको पनि भ्रमण गर्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once