Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

१० वर्ष बित्दा पनि अधुरै जुडिबेला खानेपानी आयोजना

spot_img

रमेश तिमल्सिना
रौतहट,११ साउन । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका दुई हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ ।

चन्द्रपुर नगरपालिकाका अन्य नौवटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता पनि वार्ड नं २ जुडिबेलामा अहिलेसम्म शुद्ध खानेपानीको पहुँच पुगेको छैन । विसं २०७२ बाट निर्माण सुरु भएको उक्त आयोजनाको अहिलेसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आयोजना सुरु भएको १० वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले बताए ।

‘यस क्षेत्रका नागरिकले ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिइरहेका छन्’, उनले भने, ‘संघीयता कार्यान्वयन भन्दा पहिलादेखि नै यो आयोजना सुरु भएको हो, संघीयतामा गएपछि यो आयोजना न संघीय सरकारको ध्यानमा गयो न त प्रदेशको प्राथामिकतामा नै पर्‍यो ।’

जुडिबेलावासीलाई शुद्ध पानी खुवाउनका लागि विभिन्न निकायमा धाइरहेको पनि उनले दुःखेसो गरेका छन् । करिब दुई सय घरलाई सिधै मोटरबाट ट्याङ्कीमा जम्मा नगरिकन पानी पठाइरहेको उनले जानकारी दिए ।

यस वडाको घरघरमा धारा पुर्‍याउनका लागी अझै करिब ३५ किलोमिटर मेनलाइन पाइपको आवश्यकता रहेको सोही समितिका सदस्य टेकनाथ खरेलले जानकारी दिए । फूलबारीबाट वनटोल र रैयाटोलसम्मका नागरिकको घरघरमा पानी पु¥याउनका लागि मेनलाइनको पाइप अत्यवश्यक रहेको उनले बताए ।

यो आयोजनाबाट मात्र यहाँका नागरिकलाई खानेपानी नपुग्ने हुँदा अर्को फेरि खानेपानीको योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको खरेलले सुझाव दिएका छन् । यस वडामा जनगणना २०७८ अनुसार नौ हजार ९८२ जनसंख्या रहेको छ । उक्त जनगणनाअनुसार दुई हजार ४८ घरपरिवार जनाएको भएता पनि हालसम्म सो वडामा दुई हजार ५०० भन्दा बढी घर रहेको वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले जानकारी दिए । अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भएको भएता पनि ट्याङ्की निर्माण गर्ने ठेकेदारको रु ५४ लाख भुक्तानी हुन नसकेको इञ्जिनियर झाले बताए ।

आयोजनाअन्तर्गत डिपबोरिङ जडान, कार्यालय भवन निमार्ण, विद्युतीकरण, पम्पहाउस निर्माण तथा करिब २७ किलोमिटर मेनलाइनको पाइप गाडिसकिएको उनले जानकारी दिए । उनका अनुसार बजेट अभावका कारण मेनलाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको छ । उनले भने, ‘बजेट माग गरिए पनि आउने नआउने ठेगान छैन । बजेट समयमा नै आउने हो भने काम सम्पन्न गर्न सकिन्छ ।’

यस आयोजना सम्पन्न गर्नका लागि अझै अनुमानित दुई करोड बजेट लाग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई गत भदौ १४ गते पठाएको पत्रमा उल्लेख गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once