वीरगंज,०८ साउन । वीरगंजमा पछिल्ला दिनहरूमा चर्किंदो गर्मीका कारण जनजीवन अस्तव्यस्त बन्दै गएको छ । यति बेला वीरगंजबासी पानीको गम्भीर संकटसँग जुधिरहेका छन्, तर त्यसको बीचमै नेपाल विद्युत प्राधिकरणको लापरवाहीले स्थिति झन् बिग्रिँदै गएको छ ।
वीरगंजका विभिन्न क्षेत्रमा बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुँदा आम नागरिक समस्यामा परेका छन् । न त समयमै सूचित गरिन्छ, न त नियमित समयमै लाइन आउँछ । विशेषगरी बिहान र बेलुकीजस्तो अत्यावश्यक समयमा लाइन जाने गरेको गुनासो सर्वसाधारणको छ ।
स्थानीयवासीहरू भन्छन्, “चर्काे गर्मीमा बिजुली नहुँदा न त पंखा चल्छ, न त एसि, कुलर चल्छ । झन् बालबालिका र वृद्धवृद्धा हैरान छन् ।” यसका बारम्बार विद्युत अवरुद्ध हुँदा विभिन्न कार्यालयका काम समे अवरुद्ध हुने गरेकाे छ ।
सामान्य समस्या हुँदा समेत समयमै मर्मत नगर्ने, समस्या समाधानमा ढिलासुस्ती गर्ने विद्युत प्राधिकरणको व्यवहारप्रति सर्वसाधारण आक्रोशित बनेका छन् ।
वीरगंज महानगरपालिका क्षेत्रका विभिन्न वडामा दैनिकजसो दुईदेखि चार घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । कतिपय स्थानमा त दिनमा दुई–तीन पटक लाइन जानु सामान्यजस्तै भएको छ ।
स्थानीय समाजसेवी दीपक साह भन्छन्, “यो गर्मीमा विद्युत प्राधिकरणको यस्तो लापरवाहीले जनस्वास्थ्यसमेत जोखिममा पर्न सक्छ । साना बालबालिकादेखि वृद्धसम्म प्रभावित छन् । विद्युत प्राधिकरणले तत्काल जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ ।”
स्थानीय निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग जनताले तत्काल समस्या समाधानकाे लागि पहल गरिदिन माग गरेका छन् । यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहकार्य आवश्यक देखिएको छ ।
वीरगंजबासी अहिले पानी र विजुली दुवै अभावसँग जुधिरहँदा सरकारको ध्यान यसतर्फ कहिले जान्छ भन्ने प्रतीक्षामा छन् ।





