Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
20.1 C
Kathmandu

मनसुनले काभ्रेमा सतायो त्रास, ३९५ बस्ती संकटमा

spot_img

काभ्रेपलाञ्चोक,२२ असार । यस वर्षको मनसुनजन्य विपतबाट काभ्रेका ३९५ वटा बस्ती उच्च जोखिममा परेकाछन् ।

जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले स्थानीय पालिका तथा वडा अध्यक्ष, जिल्ला प्रहरी मातहत रहेका विभिन्न चौकीले स्थानीय स्तरमानै छलफल गरेर संकलन गरेको डाटा अनुसार यस वर्ष बाढी र पहिरोबाट काभ्रे जिल्लाका १३ पालिकामा रहेका ३९५ बस्ती जोखिममा परेको पहिचान भएको हो ।

पहिचान भए अनुसार जिल्लाका १३ पालिकामा रहेका ३९५ बस्तीका ६३७५ घरधुरीका २३ हजार ४५ जना नागरिक बाढीपहिरोबाट प्रभावित हुने आँकलन गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समिति संयोजक उमेशकुमार ढकालले जानकारी दिए ।

विपद् समितिको तथ्याङ्क अनुसार १३ वटै पालिकामा बाढी र पहिरोको उच्च जोखिम देखिएको छ । काभ्रेमा सबैभन्दा बढी रोशीमा ५६ बस्ती तथा सबैभन्दा कम खानीखोलाको ९ बस्ती जोखिममा छन् ।

तथ्याङक अनुसार रोशी गाउँपालिकामा ५६ बस्ती उच्च जोखिममा छ । उक्त पालिकाको उच्च जोखिममा परेका बस्तीका १४ सय ३८ घरका ३६ सय ६२ जना नागरिक उच्च जोखिममा छन् ।

नमोबुद्ध नगरपालिकामा ५१ बस्ती उच्च जोखिममा परेको छ । उक्त पालिकाको उच्च जोखिममा परेका बस्तीका ११ सय ४२ घरधुरीका ४४ सय ११ जना नागरिक प्रभावित हुने आँकलन गरिएको छ ।

तेमाल गाउँपालिकामा ४६ बस्ती उच्च जोखिममा छन् । उक्त क्षेत्रका ३०८ घरका ८५० जना नागरिक प्रभावित छन् । पाँचखाल नगरपालिकाका ४१ बस्ती उच्च जोखिममा पर्दा ८६९ घरपरिवारका ५६६८ जना नागरिक प्रभावित हुने आँकलन गरिएको छ ।

सुगम क्षेत्र मानिने बनेपा, पनौती र धुलिखेलमा समेत केहि बस्तीहरु उच्च जोखिममा परेका छन् । बनेपाका २७ स्थान जोखिममा छन भने त्यस क्षेत्रका ८ सय ११ घरधुरीका २२ सय ६१ जना नागरिक प्रभावित हुने आँकलन छ । त्यस्तै पनौतीमा १६ वटा बस्तीका २८६ घरधुरीका १३९५ परिवार प्रभावितहुने देखिएको छ । धुलिखेलका २५ बस्ती उच्च जोखिममा छ । त्यस क्षेत्रका ५२१ घरका १३५१ नागरिक प्रभावित हुने आँकलन गरिएको छ ।

काभ्रेको डाँडापारी क्षेत्रमा रहेको महाभारत गाउँपालिकामा १३ बस्तीका १३६ घरधुरीका ५६९ जना नागरिक प्रभावित हुने आँकलन गरेको छ ।

खानीखोला गाउँपालिकामा भने ९ बस्ती उच्च जोखिममा छ । त्यस क्षेत्रका ४७ परिवारका २३३ जना नागरिक उच्च जोखिममा छन् । कोशीपारी क्षेत्रमा रहेको चौरी देउराली गाउँपालिकामा ३६ बस्ती उच्च जोखिममा रहेको छ । उक्त क्षेत्रमा बसोबास गर्ने २७६ घरधुरीका ६१९ जना नागरिक प्रभावित पर्ने आँकलन गरिएको छ ।

भुम्लु गाउँपालिकामा ३९ बस्ती उच्च जोखिममा छ । उक्त बस्तीमा रहेका २२१ परिवारका ७९१ नागरिक प्रभावित हुने आँकलन छ । त्यस्तै मण्डदेउपुर नगरपालिकामा २४ बस्तीका २४३ घर उच्च जोखिममा छ । त्यस क्षेत्रका ९४७ जना नागरिक प्रभावित छन् । बेचानचोक गाउँपालिकामा १३ बस्ती उच्च जोखिममा छन । उक्त क्षेत्रका ७७ घरका २८८ परिवार सदस्य जोखिममा छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले यस वर्षको बाढीपहिरोले काभ्रेमा रहेको रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, दाप्चाखोला लगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरेको छ ।

त्यस्तै बिपी राजमार्गमा विभिन्न खहरेखोलाले सडक अवरुद्ध हुने आँकलन गरेको छ । जोखिम न्यूनीकरण गर्न एक्साभेटर, डोजर, टिप्परलगायतका विभिन्न उद्धार सामग्री तयारी हालतमा राखेको छ ।

उक्त समितिले मनसुनजन्य विपत् न्यूनीकरणका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्लास्थित सशस्त्र प्रहरी, नेपाली सेना, सङ्घ संस्थालगायतका सरोकारवालासँग उद्धार, राहत, सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी हालतमा राख्न अनुरोध गरेको छ भने सबै पालिकामा उद्धार सामग्री तयारी हालतमा राख्न भनेको छ ।

मनसुनजन्य विपतलाई ध्यानमा राख्दै उच्च जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनस्र्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि आवश्यक काम गरिरहेको तथा आपत्कालीन उद्धारका लागि स्वयंसेवक उद्धारकर्ता, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलाई तयारी हालतमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

विपद्‍को समयमा यथाशीघ्र प्रयोग गर्न मिल्ने गरी जिल्लाका १३ पालिकाका प्रयेक वडामा वा नजिकको वडालाई समेटेर हेलिप्याड तयार गरिएको, जिल्लाका विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिएको समेत जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले आफ्ना मातहत रहेका कार्यालयहरुमा हाई अलर्टमा बस्न निर्देशन दिएको छ । जिल्ला प्रहरी प्रमुख एस्पी कोमल शाहले जानकारी दिए अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुमै पुगेर त्यस क्षेत्रको अवस्था बुझिरहेको र यस वर्ष जोखिम कसरी कम गर्न सकिन्छ भनेर कार्य गरिरहेको बताए । ‘हामी अहिले उच्च जोखिम भएको बस्तीमै पुगेर बस्तीको बारेमा जानकारी लिइरहेका छौं, अघिल्लो वर्षको जोखिमको पाठ सिकेर यो वर्ष कम क्षति होस भन्नेछ’, एसपी शाहले भने, यस कार्यमा स्थानीय पालिका, वडा, तथा जनसमुदायलेसमेत सहयोग गर्नुपर्छ ।’

विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय पालिकामा अन्तरक्रिया

विपद् जोखिम कम गर्न जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिबीच विभिन्न पालिकामा छलफल भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा तेमाल र रोशी गाउँपालिका तथा नमोबुद्ध नगरपालिकामा विपद् जोखिम न्यूनीकरण गर्न अन्तरक्रिया गरिएको हो ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोमा धेरै प्रभावित र क्षति बेहोरेको तेमाल, रोशी र नमोबुद्ध नगरपालिकामा यस वर्ष जोखिम कम गर्न जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिबीच छलफल गरिएको हो ।

छलफलमा विपद् प्रतिकार्य तथा पूर्वतयारी, खोज, उद्धार, राहतमा विगतको अनुभव र भौगोलिक अवस्थिति, प्रभावित हुन सक्ने बस्तीको लागि आवश्यक खाद्यान भण्डारण, विपद् उद्धारका सामग्री, हेलिप्याड र राजमार्गसहितका पहुँच मार्गहरु पनि अवरोध हुने अवस्था आउन नदिनेगरी छलफल भएको थियो ।

नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेपाली सेनाका प्रमुख सेनानी राममणि सापकोटा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईं, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख अनुसन्धान उपनिर्देशक दीपक खड्का लगायतले विपद्‍बारे समीक्षा गरेका थिए ।

अन्तरक्रियामा सहभागी वडा अध्यक्षहरुले बाढी, पहिरोको जोखिम भएको आफ्नो क्षेत्र, केही स्थानमा हवाई उद्धारका लागि पूर्वाधारहरु तयार गर्नुपर्ने लगायतका कुराहरु राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once