Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
20.1 C
Kathmandu

इजरायल ६० दिने युद्धविराममा सहमत : ट्रम्पको दाबी

spot_img

काठमाडौं,१८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’

तर ट्रम्पले ती शर्तहरू के हुन् भन्ने बारे केही खुलाएका छैनन् ।

‘कतार र इजिप्टले शान्ति स्थापनाका लागि निकै मिहिनेत गरेका छन् र उनीहरू नै अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। हमासले यो सम्झौतामा सहमति जनाउनेछ भन्ने मलाई पूर्ण आशा छ किनभने यसभन्दा राम्रो अवस्था केही हुने छैन, बरु झनै बिग्रिनेछ,’ उनले लेखेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो, जसमा करिब १,२०० जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनहरूमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भइसकेको छ। तर हमासले ट्रम्पले उल्लेख गरेका शर्तहरू स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।

ट्रम्पको यो घोषणा आगामी साता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँग हुन लागेको बैठकको पूर्वसन्ध्यामा आएको हो। मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेतन्याहू पनि गाजामा द्वन्द्व अन्त्य गर्न चाहन्छन् भन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘मलाई लाग्छ, हामीले अर्को साता सम्झौता गरिहाल्नेछौं।’

बीबीसीका अनुसार गत साता हमासका एक वरिष्ठ नेताले मध्यस्थकर्ताहरूले गाजामा नयाँ युद्धविराम र बन्धकको रिहाइका लागि प्रयास तीव्र पारेका बताएका थिए । तर इजरायलसँगको वार्ता अझै रोकिएको अवस्था छ। इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त गरेपछि मात्र संघर्ष अन्त्य हुने बताउँदै आएको छ ।

उता, हमासले लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण रूपमा फिर्ता माग गर्दै आएको छ ।हाल करिब ५० जना इजरायलीहरू गाजामा बन्धक अवस्थामा छन्, तीमध्ये कम्तीमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once