Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
22.1 C
Kathmandu

कुलपानी हरित उद्यान : पर्यटकका लागि रमाइलो गन्तव्य

spot_img

दाङ ,०८ असार । दाङको गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। यहाँ हरेक दिनजसो मानिस घुम्न जाने गर्छन्। सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी सामुदायिक वन समूहले पर्यटन प्रवर्द्धनका लागि हरित पार्क, जलासयसँगै काठको भ्यूटावर निर्माण गरेपछि आन्तरिक पर्यटनको गन्तव्य बनेको हो।

वन समूहका अध्यक्ष नवराज शर्माका अनुसार वन समूहले कृत्रिम जलासयसँगै पार्क निर्माण गरेर बाघ, गैँडा, जरायो, घोडा, मयुरलगायत विभिन्न प्रजातिका चराको प्रतिमा बनाएपछि पार्कमा घुम्न र वनभोजका लागि आउने मानिसको सङ्ख्यामा वृद्धि भएको छ। कुलपानीमा पर्यटकलाई आकर्षण गर्नेगरी पार्कसँगै पोखरीमा काठको पुल, भ्यूटार निर्माणले थप आकर्षण बढाउने काम गरेको छ। पार्कमा घुम्न आउनेसँग २० देखि ३० रुपैयाँसम्म लिने गरिएको छ। पर्यटन प्रवद्र्धनका माध्यमबाट राम्रो आयआर्जन हुन थालेपछि वन समूहले १२ हेक्टरमा फैलिएको पार्कलाई २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने योजनाका साथ अघि बढेको छ।

अध्यक्ष शर्माका अनुसार हालसम्म ५१ हजार बढीले अवलोकन गरेका छन्। वातावरणीय रूपमा उपयुक्त र मानिसले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने गरिएका र अहिले लोप हुने अवस्थामा पुगेका काठका सामग्रीलाई सङ्कलन गरेर काठको सङ्ग्राहलय स्थापनाका लागि काम भइरहेको छ। काठबाट बनेका र देउखुरी क्षेत्रमा मानिसले प्रयोग गरेका लडिया, डुङ्गा, कोल, ढिकी, हलो, जुवाँ, ठेकीलगायत परम्परागत सामग्री सङ्कलन गरे पनि राख्ने उपयुक्त ठाउँ नपाउँदा समस्या भइरहेको भन्दै काठको सङ्ग्रालय स्थापना गर्नेगरी वन समुहले विभिन्न सामग्री सङ्कलन गरेको छ, तर ठाउँको अभावमा सञ्चालन गर्न सकिएको छैन।

अध्यक्ष शर्माले कुलपानीलाई धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेगरी हरित पार्क निर्माण गर्नुका साथै जलविहारका लागि मानिस आउने गरेको उल्लेख गरे। प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै आन्तरिक पर्यटनको विकास गर्न कुलपानीमा पूर्वाधार विकासका लागि लगानी गर्न आवश्यक रहे पनि त्यसअनुसारको सहयोग प्राप्त हुन नसकेको बताए।

गर्मीयाममा जङ्गल क्षेत्रमा रहेको पार्कमा शीतलतासँगै पार्कमा रहेका विभिन्न मूर्ति हेर्नदेखि फोटो, भिडियो खिच्नका लागि धेरै मानिस आउने गरेका स्थानीय सीता गिरी बताउँछिन्। वन समूहले पार्क निर्माणसँगै विभिन्न वन्यजन्तुका मूर्ति तथा पोखरीमा निर्माण गरेर डुङ्गा सञ्चालन गरेपछि शनिबार र सार्वजनिक बिदाका दिन धेरै मानिस आउने गरेको उनको भनाइ छ। लगानी अभावमा बाल उद्यान, जङ्गली पशुपन्छीका लागि खोरसँगै तारबार गर्ने काम गर्न नसकिएको उनले जानकारी गराइन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once