वीरगंज,२० जेष्ठ । वीरगंजस्थित नारायणी अस्पतालको आइसियु (ICU) र सिसिसियु (CCU) वार्डमा तीन घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध भई उपचारमा गम्भीर बाधा पुगेको घटनापछि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।
मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै मेयर सिंहले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, र सार्वजनिक अस्पतालहरूको पूर्वतयारी मजबुत बनाउने गरी छ बुँदे माग राखेका हुन्। सो अवसरमा संघीय खानेपानी मन्त्री तथा पर्सा–१ का सांसद प्रदीप यादव पनि सहभागी थिए।
गत शुक्रबार राति विद्युत सर्ट भएर अस्पतालको गम्भीर उपचार वार्डमा सेवा अवरुद्ध हुँदा १७ जना बिरामीको ज्यान जोखिममा परेको थियो। मेयर सिंहले यस घटनालाई प्रशासनिक र प्राविधिक लापरवाहीको परिणाम भन्दै दोषी अधिकारीलाई निलम्बन गरी कडा कारबाही गर्नुपर्ने बताएका छन्।
ज्ञापनपत्रमा थप मागहरूमा अस्पताल विकास समितिको तत्काल बर्खास्ती, विद्युत ब्याकअप व्यवस्था अनिवार्य बनाउने, घटनाबाट प्रभावित बिरामीको विवरण सार्वजनिक गर्ने, र पीडितलाई क्षतिपूर्ति दिने समावेश छन्।
यसअघि, शनिबार बसेको जिल्ला सुरक्षा समिति बैठकले अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गरिसकेको छ। मेयर सिंहले सार्वजनिक स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउन नीतिगत तहबाट ठोस कदम चाल्न आवश्यक रहेको बताएका छन्।





