Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

सडक र पुल निर्माणपछि सोनारीमा व्यावसायिक चहलपहल बढ्दो

spot_img

बाँके,१६ जेष्ठ ।  हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ। कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रुपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको हो । राप्ती सोनारी गाउँपालिकाको व्यावसायिक चहलपहल बढ्दै गएको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए।

‘हुलाकी सडक र पुल बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्, व्यावसायिक कारोबार पनि बढ्दै गएको छ’, उनले भने, ‘हुलाकी सडक बनेपछि मानिसको आवागमन र चहलपहल बढ्दै गएको छ, अहिले घरेलु तथा साना उद्योग तथा व्यवसाय पनि फस्टाउँदै गएको छ ।’ सडक र पुल बनेपछि राप्तीपारी अवस्थित बिनौना, बैजापुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ। बैजापुरमा रहेको प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी र बिनौनामा रहेको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्ने सर्वसाधारणको संख्या बढ्दो छ।

हुलाकी सडक र राप्ती नदीमा माथि बनेको पुललगायतका पूर्वाधार विकासले सोनारी क्षेत्रका जनताको आर्थिक तथा समग्र सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताए । नेपालगञ्ज–बघौडा हुलाकी सडक सँगसँगै राप्ती सोनारीको वडा नं ६ कुण्डादेखि नारायणपुर हुँदै अगैयास्थित पूर्व–पश्चिम राजमार्ग जोड्ने हुलाकी सडकखण्ड विस्तार भएपछि अहिले साना ठूला सवारीसाधन आवागमन पनि बढ्दै गएको छ।

नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्ग भन्दा यो हुलाकी सडक छोटो पर्ने भएकाले सवारीसाधनको आवागमन बढ्दो रहेको विष्टले बताए। कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल निर्माण भएपछि गाउँपालिकाको नदी वारि र पारिको सीधा सम्पर्क बनेको राप्ती सोनारी–५ का जमानसिंह वलीले बताए। सडक र पुललगायतका पूर्वाधार विकाससँगै राप्ती सोनारीमा व्यवसायी चहलपहल आएको उल्लेख गर्दै उनले कृषिको माध्यमबाट जनताको आर्थिक जीवनस्तर उकास्नतर्फ अब स्थानीय सरकारले योजना ल्याउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once