चितवन,१२ जेष्ठ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुस्त गतिमा अघि बढिरहेको छ । पछिल्ला डेढ महिनादेखि रंगशालाको निर्माणमा उल्लेखनीय प्रगति नभएको देखिन्छ ।
प्यारापिट, मैदान र भीआईपी टावरसहितको निर्माण जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले विभिन्न बहानाका आधारमा काममा ढिलाइ गरिरहेको छ ।
झण्डै दुई महिना अघिसम्म २० प्रतिशत प्रगति भएको बताइएको भए पनि रंगशालाको अनुगमनमा संलग्न भरतपुर महानगरपालिकाले कामको गति प्रति असन्तुष्टि जनाएको छ । शुक्रबार नगर प्रमुख रेनु दाहाल स्वयं इन्जिनियरहरूसहित निर्माणस्थलमा पुगेर ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिन् ।
उनले तीन दिनअघि रंगशालाको अवस्था जाँच गर्दा जस्तो थियो, हाल पनि काम उस्तै गतिमा भइरहेको भन्दै ठेकेदार विकास गौतमलाई निर्माणको गति तीव्र पार्न निर्देशन दिइन् । साथै, चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त बजेट फ्रिज हुनसक्ने अवस्था आएको भन्दै समयमै काम सम्पन्न गर्न आग्रह गरिन् ।
‘तपाईंहरूको कामको गति अत्यन्तै ढिलो छ, यसरी काम गरेर हुँदैन,’ ठेकेदारलाई सम्बोधन गर्दै नगर प्रमुख दाहालले भनिन्, ‘कीर्तिपुरमा कसरी काम भइरहेको छ, तपाईंहरूले देख्नुभएको छ । हाम्रो रंगशालामा त्यस्तो किन हुन सकेन ? बजेटको अभाव छैन, समस्या के हो ?’
उनले गौतमबुद्ध क्रिकेट रंगशालालाई देशको प्रतिष्ठासँग जोडिएको परियोजना भएकोले प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरिन् । ठेकेदार विकास गौतमका अनुसार अहिले रंगशालामा करिब ८० जना कामदार कार्यरत छन् । निर्माण सामग्रीजस्तै रड, सिमेन्ट आदिको अभावले गर्दा अपेक्षित गति लिन नसकेको बताए । उनले आगामी दिनमा १ सयजति कामदार थप गरी काममा तीव्रता ल्याउने दाबी गरे ।

महानगरका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले पछिल्ला डेढ महिनादेखि रंगशालाको काममा कुनै उल्लेखनीय प्रगति नभएको बताए । मैदानसँगै पिच निर्माण पनि सँगसँगै अघि बढ्ने योजना भए पनि हालसम्म कुनै ठोस कार्य प्रारम्भ नभएको बताइएको छ । रंगशालामा पाँचवटा पिच तयार गरिने योजना छ ।
गत असार २३ गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको रंगशालाको काम समयमै सम्पन्न गर्ने ठेकेदारको प्रतिबद्धता रहेको छ । हाल दुईवटा भीआईपी टावरको पहिलो तलाको ढलानको तयारी भइरहेको छ, तर रडको अभावका कारण केही ढिलाइ हुने देखिन्छ । पश्चिमतर्फको प्यारापिटमा खासै प्रगति छैन भने पूर्वपट्टिको काम अझै बाँकी छ ।
ठेकेदार विकास गौतमले असारसम्म ४० प्रतिशत भौतिक प्रगति पुर्याउने योजना रहेको बताएका छन् । असार पहिलो साता भित्रै ३५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको र वर्षातको समयमा भित्री संरचनात्मक काम निरन्तर रूपमा गर्ने योजना सुनाए । इन्जिनियर आचार्यका अनुसार असारसम्म ४० प्रतिशत प्रगति भएमा निर्धारित लक्ष्य अनुरूप काम भएको मानिनेछ । सुरुमा धुर्मुस-सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माण सुरु भएको रंगशाला बजेट अभावका कारण २०७८ साउन २२ गतेदेखि झण्डै दुई वर्षसम्म रोकिएको थियो ।
त्यसपछि भरतपुर महानगरपालिकाले स्वामित्व ग्रहण गर्दै संघीय, प्रदेश तथा महानगरको लगानीमा २०८१ साउनदेखि रंगशालाको निर्माण कार्य ठेक्कामार्फत अगाडि बढाएको हो । पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गर्ने गरी ७८ करोडको लागतमा निर्माण कार्य थालिएको हो । यसअघि धुर्मुस-सुन्तली फाउन्डेसनले ३ हजार दर्शक अट्ने प्यारापिट बनाइसकेको थियो । महानगरका इन्जिनियर आचार्यका अनुसार मैदान, ५ वटा पिच, ड्रेनेज प्रणाली तथा पछिल्लो प्रविधियुक्त मैदान निर्माण गरिनेछ । साथै दुईवटा तीनतलाको भीआईपी टावर बनाइनेछ, जसमा एकमा भीआईपी र खेलाडी तथा अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्स रहनेछन् ।
३० महिनाभित्र निर्माण सक्ने सम्झौता भएअनुसार हाल करिब २० महिना बाँकी छ । नगर प्रमुख दाहालले रंगशालाको निर्माणका लागि बजेट अभाव नरहेको भन्दै समयमै काम सम्पन्न गरी भुक्तानी लिन ठेकेदारलाई अनुरोध गरिन् ।
संघीय सरकारले चालु आर्थिक वर्षका लागि २५ करोड, प्रदेश सरकारले १० करोड र महानगरले ५ करोड बजेट उपलब्ध गराइसकेको छ । साथै बागमती प्रदेश सरकारले अघिल्लो वर्ष माघ २३ गते ५२ करोड ५० लाख बजेट दिने निर्णय गरिसकेको छ । नगर प्रमुख दाहालका अनुसार दोस्रो चरणमा थप १५ हजार दर्शक अट्ने प्यारापिट, कुर्सी तथा फ्लड लाइट जडान गरिनेछ । रंगशालाका लागि फाउन्डेसनले पहिल्यै २८६ वटा पिलर निर्माण गरिसकेको छ ।
संघीय मन्त्रिपरिषद्को २०७९ कात्तिक २३ गतेको निर्णय अनुसार गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा समावेश गरिएको छ, जसअनुसार तीनै तहका सरकार मिलेर यसको निर्माण सम्पन्न गरिनेछ । सभार:अनलाइन खबर





