काठमाडौं,२९ वैशाख । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक सञ्जालको आधारमा विकासको आकलन नगर्न आग्रह गरेका छन्।
सोमबार कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्णजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भने, “सामाजिक सञ्जालमा आधारित भएर मात्र धारणा बनाउनु हुँदैन।” उनले भने, “हाल सामाजिक सञ्जालमार्फत व्यवस्था परिवर्तन भएको कि होइन भन्ने अफवाह फैलाइन्छ, तर यथार्थ भने त्यस्तो छैन।”
उपप्रधानमन्त्री सिंहले रसुवा जिल्लाको अतीत र वर्तमान अवस्था मूल्याङ्कन गर्न अपिल गर्दै विद्यालयकै पहिले र अहिलेको अवस्थाबीच पनि परिवर्तन भएको दाबी गरे। उनले थपे, “सामाजिक सञ्जालले मात्र देशको विकासको अवस्था नाप्नु उचित हुँदैन। सामाजिक सञ्जाल भनेको भर्चुअल संसार हो, जबकि हामीले भोगिरहेको वास्तविक संसारको अवस्था फरक छ। विगतको तुलनामा अहिलेका अवस्था क्रमिक रूपले परिवर्तन भइरहेको छ। यसका लागि राजनीतिक स्थिरता र स्थायित्व आवश्यक छ, जुन अहिलेको सरकारले सुनिश्चित गरेको छ।”
त्यसैगरी, उपप्रधानमन्त्री सिंहले शिक्षा र ज्ञानको प्राप्ति केवल इच्छाशक्तिमार्फत सम्भव नहुने, त्यसका लागि मिहिनेत र प्रयास आवश्यक भएको बताए। उनले गुणस्तरीय शिक्षाको लागि समुदायले विद्यार्थीप्रति आफूलाई जिम्मेवार ठान्नु पर्ने जोड दिएका छन्।





